साउन लागेयता देखिएको ग्यास अभाव अझै कायमै।
उपभोक्ता ग्यास लिन घण्टौँ लाइन बस्न बाध्य।
पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात।
यो महिना करिब ५५ हजार मेट्रिक टनसम्म ग्यास आयात हुने निगमको अनुमान।
सामान्य अवस्थामा महिनामा ४५–४६ हजार मेट्रिक टन ग्यास आयात हुने गर्छ।
सरकारले तीन महिनाका लागि आयात कोटा बढाउन भारतसँग कूटनीतिक पहल गरिरहेको छ।
नेपालमा ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।
उद्योग तथा डिलरको अनुगमन तीव्र पारिएको छ।
निगमको क्विक रेस्पोन्स टोलीले ५०० भन्दा बढी उपभोक्ता गुनासो सम्बोधन गरेको जनाएको छ।
निगमले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
काठमाडौं, २४ साउन। साउन लागेयता देखिएको खाना पकाउने ग्यासको अभाव अझै हट्न सकेको छैन। ग्यास लिन उपभोक्ता घण्टौँसम्म लाइनमा बस्न बाध्य भइरहेका छन्। तर नेपाल आयल निगमले भने सामान्य अवस्थाको भन्दा बढी ग्यास आयात भइरहेको जनाएको छ।
निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भइसकेको छ। यो महिना झण्डै ५५ हजार मेट्रिक टनसम्म ग्यास आयात हुने निगमको अनुमान छ।
सामान्य अवस्थामा नेपालमा महिनामा करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास आयात हुने गरेको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले अहिले आयात बढाइएको र यसले बजारमा देखिएको अभाव कम गर्न सहयोग पुग्ने बताउनुभएको छ।
सरकारले ठूला चाडपर्वका समयमा ग्यासको अभाव नहोस् भनेर आगामी तीन महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक पहलसमेत गरिरहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभएको छ।
यसअघि उपभोक्तालाई आधा सिलिन्डर मात्र उपलब्ध गराउँदै आएकोमा अहिले पूर्ण सिलिन्डर उपलब्ध गराउन थालिएपछि बजारमा ग्यासको माग र आपूर्तिबीच असन्तुलन देखिएको बताइएको छ।
नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्। ती उद्योगमा कुल १० हजार १६६ मेट्रिक टन ग्यास भण्डारण क्षमता रहेको छ भने दैनिक करिब १ करोड ७५ लाख सिलिन्डर फिलिङ क्षमता रहेको बताइएको छ।
बजारमा ग्यासको आपूर्ति सहज बनाउन मन्त्रालयले ग्यास उद्योग तथा डिलरको अनुगमनलाई समेत तीव्र बनाएको छ।
शनिबार उद्योगमन्त्रीसहितको टोलीले काठमाडौंको बालाजुस्थित नेपाल ग्यास उद्योग तथा टेकुमा रहेको निगम परिसरमा नेपाल ग्यास, एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका बिक्री केन्द्रको निरीक्षण गरेको थियो।
निगमले गठन गरेको क्विक रेस्पोन्स टोलीले ग्यास नपाएको भन्दै उपभोक्ताबाट आएका ५०० भन्दा बढी गुनासो सम्बोधन गरेको जनाएको छ।
वाणिज्य मन्त्रालय, नेपाल आयल निगम तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी टोलीले उपभोक्ताको गुनासोका आधारमा ग्यास उपलब्ध गराउन सहजीकरण गरिरहेको आपूर्ति मन्त्रालयका शाखा अधिकृत दुर्गादत्त भट्टले बताउनुभएको छ।
ग्यासको आपूर्ति निरन्तर भइरहेको भन्दै नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेको छ।
