तातोपानी नाका तीन हप्ताभन्दा बढी समयदेखि अवरुद्ध।
पहिरोका कारण नेपाल–चीनबीचको आयात–निर्यात प्रभावित।
कोदारी, लिपिङ र जिरोकिलो क्षेत्रमा सडक अवरुद्ध।
चीनबाट मालवाहक कन्टेनर नेपाल भित्रिन सकेका छैनन्।
अरनिको राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध।
तेह्रथुम, इलाम, रसुवा र रुकुम पश्चिमका सडकसमेत पहिरोबाट प्रभावित।
इलाममा वैकल्पिक सडकको व्यवस्था गरिएको छ।
यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ।
सिन्धुपाल्चोक, २४ साउन। नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वारका रूपमा रहेको तातोपानी नाका अवरुद्ध भएको तीन हप्ताभन्दा बढी भइसकेको छ। लामो समयदेखि नाका बन्द हुँदा नेपाल र चीनबीचको वैदेशिक व्यापारसमेत प्रभावित भएको छ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार विभिन्न स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपाल–चीन व्यापारमा प्रत्यक्ष असर परेको हो।
तातोपानी नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत नेपाल–चीन सीमा क्षेत्र कोदारीमा पर्छ। सडक अवरुद्ध भएका कारण चीनबाट मालवाहक सामान बोकेका कन्टेनर नेपाल भित्रिन सकेका छैनन्।
भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं. २ कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा समेत अरनिको राजमार्ग अवरुद्ध रहेको छ। यी सडक कहिलेसम्म सञ्चालनमा आउँछन् भन्ने अझै टुङ्गो लाग्न नसकेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गिरीले जानकारी दिनुभयो।
अन्य राजमार्गसमेत पहिरोको चपेटामा
पहिरोका कारण तेह्रथुमको मध्यपहाडी लोकमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक तथा रुकुम पश्चिमको भेरी करिडोरलगायत सडक खण्डसमेत प्रभावित भएका छन्।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा यातायात अवरुद्ध भए पनि उक्त क्षेत्रमा वैकल्पिक सडकको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रु तथा चालकलाई यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
