भर्खरै : Sorry, your browser does not support inline SVG.

सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च

सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च

मुख्य बुँदा

सरकारले पुरानो ऋणको साँवा र ब्याज भुक्तानीका लागि नयाँ ऋण लिने क्रम बढेको ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ प्रतिवेदनले यस्तो अवस्था देखाएको ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८२/८३ मा आन्तरिक ऋण ४५ प्रतिशतले बढेको ।

नयाँ ऋणको ठूलो हिस्सा विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व भुक्तानीमा खर्च भइरहेको ।

कुल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋण ४० दशमलव ७२ प्रतिशतबाट बढेर ४३ दशमलव ७९ प्रतिशत पुगेको ।

राजस्व सङ्कलनको तुलनामा चालू खर्च बढ्दा नियमित खर्च धान्नसमेत ऋणमा निर्भर हुनुपर्ने अवस्था ।

चालू खर्च घटाउन, राजस्वको दायरा विस्तार गर्न र उत्पादन तथा आर्थिक गतिविधि बढ्ने क्षेत्रमा ऋण परिचालन गर्न आयोगको सुझाव ।

काठमाडौं, २२ असोज । सरकारले पुरानो ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न नयाँ ऋण लिने क्रम बढ्दै गएको देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको साँवा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा सरकारको आन्तरिक ऋण ४५ प्रतिशतले बढेको छ । यसरी उठाइएको ऋणको ठूलो हिस्सा नयाँ विकास निर्माण तथा पूँजी निर्माणमा परिचालन हुन नसकी पुरानो दायित्व भुक्तानीमै खर्च भइरहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार यस्तो अवस्थाले ऋणबाट अर्थतन्त्रमा उत्पादन तथा विस्तारको अपेक्षित प्रभाव पार्न कठिन भइरहेको छ । आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनको ४० दशमलव ७२ प्रतिशत रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०८१/८२ मा बढेर ४३ दशमलव ७९ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारको चालू खर्च निरन्तर बढ्दै गए पनि सोही अनुपातमा राजस्व सङ्कलन हुन नसक्दा नियमित खर्च व्यवस्थापन गर्नसमेत ऋणमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ देखि सरकार निरन्तर बजेट घाटामा रहेको तथा प्राथमिक बचतसमेत ऋणात्मक हुँदै गएको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले सरकारलाई चालू खर्चमा मितव्ययिता अपनाउन, राजस्वको दायरा विस्तार गर्न तथा ऋण परिचालन गर्दा आर्थिक गतिविधि र उत्पादन बढ्ने सुनिश्चित गर्न सुझाव दिएको छ ।

आयोगका अनुसार ऋणको उपयोग उत्पादनशील क्षेत्रमा हुन सकेमा मात्र त्यसले आर्थिक गतिविधि विस्तार तथा भविष्यमा ऋण भुक्तानी गर्ने क्षमता बढाउन योगदान पुर्‍याउन सक्छ ।

 


Thali Mobile Pvt.Ltd.