भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान

एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान

एजेन्सी २२ असोज । प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै ‘एल निनो’ प्रभाव तीव्र बन्दै गएको छ । विश्व मौसम विज्ञान सङ्गठनका अनुसार यसपटकको एल निनो आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने सम्भावना छ ।

विश्व मौसम विज्ञान सङ्गठनका प्रमुख सेलेस्ट साउलोले एल निनो दृढ रूपमा स्थापित भइसकेको र तीव्र गतिमा बलियो हुँदै गएको बताउनुभएको छ । उहाँका अनुसार अहिले देखिएको अवस्था सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना अत्यधिक रहेको छ ।

विश्व मौसम विज्ञान सङ्गठनका अनुसार मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम गत जुनमा औसतभन्दा १ दशमलव ६ डिग्री सेल्सियस बढी थियो । अगस्टमा यो अन्तर बढेर २ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।

अक्टोबर, नोभेम्बर र डिसेम्बरमा समुद्री सतहको तापक्रम सामान्यभन्दा झन्डै ३ दशमलव ७ डिग्री सेल्सियससम्म बढी हुन सक्ने अनुमान गरिएको छ । यो सन् २०१५–२०१६ मा कायम २ दशमलव ६ डिग्री सेल्सियसको अघिल्लो उच्च स्तरभन्दा समेत बढी हो ।

विश्व मौसम विज्ञान सङ्गठनका प्रमुख साउलोका अनुसार एल निनोले पृथ्वीमा नयाँ ताप थप्नेभन्दा पनि समुद्रमा लामो समयदेखि सञ्चित ताप बाहिर ल्याउने गर्छ । अहिले समुद्रको तापक्रम मापन सुरु भएयताकै उच्च रहेकाले बाहिर निस्कन थप ताप उपलब्ध रहेको उहाँको भनाइ छ ।

एल निनोका कारण विश्वका विभिन्न क्षेत्रमा औसतभन्दा बढी तापक्रम तथा वर्षाको ढाँचामा परिवर्तन आउन सक्छ । यसका कारण केही क्षेत्रमा खडेरी र केही क्षेत्रमा अत्यधिक वर्षा तथा बाढीको जोखिम बढ्न सक्ने विश्व मौसम विज्ञान सङ्गठनले जनाएको छ ।

यसको प्रभाव अर्थतन्त्र, कृषि, पारिस्थितिक प्रणाली र स्थानीय समुदायमा समेत पर्न सक्ने बताइएको छ । अहिलेको एल निनोको प्रभाव मध्य अमेरिकालगायत केही क्षेत्रमा देखिन थालिसकेको छ । केही क्षेत्रमा खडेरीका कारण बाली तथा पशुपक्षीमा क्षति भइरहेको जनाइएको छ ।

सामान्यतया एल निनो प्रत्येक २ देखि ७ वर्षमा देखिने गर्छ र यसको प्रभाव झन्डै ९ देखि १२ महिनासम्म रहन सक्छ । यसअघिको एल निनोले सन् २०२३ र २०२४ लाई अभिलेख राखिएयताकै अत्यधिक तातो वर्ष बन्न योगदान गरेको थियो ।

‘एल निनो’ प्रशान्त महासागरको समुद्री पानी सामान्यभन्दा बढी तात्ने मौसमी अवस्था हो । समुद्री सतहको तापक्रम सामान्य अवस्थाभन्दा कम्तीमा ० दशमलव ५ डिग्री सेल्सियस बढी भएर केही समय कायम रहँदा यसको प्रभाव विश्वव्यापी मौसम प्रणालीमा देखिन सक्छ । यसले वायुमण्डलीय परिसञ्चरणमा परिवर्तन ल्याउँदा विश्वका विभिन्न क्षेत्रमा तापक्रम र वर्षाको स्वरूपमा समेत असर पर्न सक्छ ।

 


Thali Mobile Pvt.Ltd.