नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा बाढी आउनुअघि तत्काल विद्यालय खाली गराउँदा १ हजार ६४३ विद्यार्थीको ज्यान जोगियो ।
बाढी विद्यालयसम्म आइपुग्न करिब १२–१५ मिनेट मात्रै बाँकी हुँदा प्रधानाध्यापक र शिक्षकले जोखिम मोलेर विद्यार्थीलाई सुरक्षित स्थानमा पठाए ।
विद्यालयको भवन, कक्षाकोठा र भौतिक संरचना बाढीले पूर्णरूपमा बगाए पनि ठूलो मानवीय क्षति हुनबाट जोगियो ।
विद्यार्थीलाई सुरक्षित स्थानमा पठाएर अन्तिममा निस्किएका कार्यालय सहयोगी र शिक्षक सन्तोष परियार भने अझै सम्पर्कविहीन छन् ।
काठमाडौँ, ११ भदाै । नुवाकोटको विदुर नगरपालिकास्थित ऐतिहासिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा बुधबार आएको विनाशकारी बाढीले विद्यालयको भौतिक संरचना पूर्णरूपमा ध्वस्त बनाएको छ । तर विद्यालय प्रशासनले समयमै गरेको निर्णयका कारण कक्षा १२ सम्म अध्ययनरत १ हजार ६४३ विद्यार्थीको ज्यान जोगिएको छ ।
बुधबार बिहान विद्यार्थीहरू प्रार्थना तथा पठनपाठनको तयारीमा थिए । त्यही समयमा विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई माथिल्लो तटीय क्षेत्रबाट ठूलो बाढी आउन लागेको सूचना प्राप्त भयो । त्यसैबीच एक अभिभावक पनि विद्यालयमा पुगेर माथिल्लो क्षेत्रमा बाढीले ठूलो क्षति गरेको जानकारी गराउँदै आफ्नो बच्चा लिन आएको बताए ।
बाढी विद्यालयसम्म आइपुग्न करिब १२ देखि १५ मिनेट मात्रै बाँकी रहेको अवस्थामा प्रधानाध्यापक दवाडी र शिक्षकहरूले तत्काल विद्यालय खाली गराउने निर्णय गरे । विद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित स्थानतर्फ पठायो । बसबाट घर जाने विद्यार्थीलाई चालकमार्फत तुरुन्तै पठाइयो भने पैदल जाने विद्यार्थीलाई नजिकैको डाँडा तथा सुरक्षित उचाइतर्फ लैजान निर्देशन दिइयो ।
विद्यार्थीहरूलाई सुरक्षित स्थानमा पठाएको केही समयमै त्रिशूली नदीको उर्लिएको भेल विद्यालय परिसरमा प्रवेश गर्यो । बाढीले विद्यालयका भवन, कक्षाकोठा, कागजातलगायत सम्पूर्ण भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । शिक्षकहरूले विशेषगरी छात्रावासमा रहेका करिब १०० विद्यार्थीलाई लिएर माथिल्लो डाँडामा पुगेका थिए । रातभरको प्रयासपछि अभिभावकसँग सम्पर्क गर्दै विद्यार्थीहरूलाई क्रमशः परिवारको जिम्मा लगाइएको विद्यालयले जनाएको छ ।
तर विद्यार्थीलाई सुरक्षित स्थानमा पठाएर अन्तिममा विद्यालयबाट निस्किएका एक कार्यालय सहयोगी र निम्न माध्यमिक तहका सामाजिक शिक्षक सन्तोष परियार भने सम्पर्कविहीन रहेको जनाइएको छ । बाढीका कारण टेलिफोन, विद्युत् तथा सडक सम्पर्क अवरुद्ध भएकाले प्रभावित क्षेत्रका मानिसहरूको अवस्थाबारे पूर्ण विवरण प्राप्त गर्न कठिन भइरहेको छ । देवचुली बजारलगायत आसपासका क्षेत्रमा समेत ठूलो क्षति पुगेको बताइएको छ ।
विद्यालयको भौतिक संरचना बाढीले बगाए पनि समयमै गरिएको १५ मिनेटको निर्णयले १ हजार ६४३ विद्यार्थीको जीवन जोगाएको घटनालाई मानवीय सुझबुझ र साहसको उदाहरणका रूपमा हेरिएको छ ।
