मुख्य बुँदा
चीनतर्फबाट आएको बाढीमा परी घाइते भएका ५५ जनाको काठमाडौंका तीन प्रमुख अस्पतालमा उपचार भइरहेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा २१, त्रिवि शिक्षण अस्पतालमा ३१ र वीर अस्पतालमा ३ जना उपचाररत छन् ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत कुशल मगरको मृत्यु भएको छ ।
घाइतेहरूको निःशुल्क उपचारका लागि अस्पतालमा आवश्यक जनशक्ति र व्यवस्थापन मिलाइएको छ ।
काठमाण्डौ, ११ भदौ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा हिजो बुधवार आएको भीषण बाढी ६ घण्टामा नारायणीसम्म कसरी पुग्यो भन्ने विस्तृत प्राविधिक विवरण सार्वजनिक गरेको छ ।
महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार स्याटेलाइट तस्वीर तथा प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सीमा क्षेत्र नजिक हिमपहिरो गएका कारण आकस्मिक बाढी आएको देखिन्छ । महाशाखाका अनुसार सीमाबाट १ किलोमिटर तल रहेको रसुवागढी जलमापन केन्द्रले अन्तिम पटक बिहान ८ बजेर ४० मिनेटमा विवरण पठाउँदा नदीको जलसतह १.६२ मिटर थियो ।
त्यहाँ भोटेकोशीको जलसतह सतर्कता तह ६ मिटर र खतरा तह ७ मिटर तोकिएको छ । बाढीले केन्द्र नै बगाएपछि त्यसपछि विवरण आउन बन्द भएको छ । त्यसपछि सीमा क्षेत्रबाट प्रवेश गरेको उच्च गति, बहाव र गेग्रानसहितको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका तटीय क्षेत्रमा ठूलो प्रभाव पारेको छ ।
महाशाखाका अनुसार ८ बजेर ५० मिनेटमा स्याफ्रुबेँसी केन्द्रमा ३.८ मिटर जलसतह मापन भएको थियो । त्यहाँको सतर्कता तह ५.५ मिटर हो । त्यसपछि त्यहाँको केन्द्र पनि बाढीले बगायो ।
सीमाबाट ३६ किलोमिटर तल रहेको बेत्रावतीमा ९ बजेर २० मिनेटमा त्रिशूलीको जलसतह ३.५५ मिटर मापन भएको थियो । त्यहाँ सतर्कता तह ४.१ मिटर र खतरा तह ५.५ मिटर हो । त्यसपछि बेत्रावती जलमापन केन्द्रले पनि विवरण पठाएन । यसको अर्थ केन्द्र बग्यो ।
मलेखुमा रहेको फुर्के जलमापन केन्द्रमा बिहान ११ बजेर २६ मिनेटमा जलसतह ७ मिटर र ११ बजेर ४० मिनेटमा ८ मिटर पार भयो । फुर्केमा त्रिशूलीको जलसतह उच्चतम १०.४८ मिटर पुगेपछि जलमापन केन्द्र बगायो ।
मुग्लिन नजिक कालीखोलामा दिउँसो २ बजेर १४ मिनेटमा खतरा तह पार गरेको देखिन्छ । १२.१ मिटर खतरा तह रहेकोमा कालीखोलामा उच्चतम १२.३५ मिटर जलसतह मापन भएको थियो । देवघाट जलमापन केन्द्रमा दिउँसो ३ बजेर २० मिनेटमा बाढी पुगेकोमा ४ बजे जलसतह ६.५७ मिटरको उच्चतम विन्दुमा पुगेपछि क्रमैसँग घट्यो ।
प्रारम्भिक अनुमानअनुसार देवघाटमा २ बजेर १० मिनेटदेखि ६ बजेसम्म आधार बहावभन्दा अतिरिक्त बाढीजन्य पानीको आयतन झन्डै २ करोड घनमिटर रहेको प्रारम्भिक अनुमान छ । महाशाखाले हिजो ६ लाख ७९ हजार नागरिकलाई एसएमएस पठाएको जनाएको छ ।
महाशाखाले बुधवार बिहान ८ बजेर २० मिनेटमा रसुवागढी सीमा क्षेत्र आसपास २.६ रेक्टर स्केल र ८ बजेर ३७ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको जनाएको छ तर भूकम्प र बाढीबीचको सम्बन्धबारे प्रतिवेदनले केही खुलाएको छैन । रासस
