इस्लामाबाद । पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोका कारण २०० भन्दा बढी मानिस अझै बेपत्ता छन् । सरकारी अधिकारीहरूका अनुसार हालसम्म साढे ३०० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।
खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ । सडक सम्पर्क पूर्ण रूपमा भत्किएकोले धेरै परिवारहरूले आफ्ना आफन्तहरूको शवसमेत लिन सकेका छैनन् ।
प्रान्तीय उद्धार टोलीका एक प्रवक्ताले AFP लाई जानकारी दिँदै १० देखि १२ वटा गाउँ आंशिक रूपमा पुरिएको बताएका छन् । यस्तै, शंगलाका गाउँहरूमा पनि ठूलो संख्यामा मानिस बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन प्रमुख असफन्दार खतकले बताएका छन् ।
पाकिस्तान सरकारले आगामी २१ अगस्टसम्म उत्तर–पश्चिमी क्षेत्रहरूमा भारी वर्षाको चेतावनी जारी गरिसकेको छ । मनसुन सुरु भएदेखि हालसम्म करिब ६५० जनाको मृत्यु भइसकेको छ । विशेषगरी पञ्जाब प्रान्तमा गत वर्षको तुलनामा बढी वर्षा भएको छ । यो वर्षको जुलाई महिनामा मात्रै अघिल्लो वर्षको समग्र मनसुनभन्दा बढी मृत्यु संख्या दर्ता भएको अधिकारीहरूले जनाएका छन् ।
जलवायु विज्ञहरूका अनुसार उत्तरी पाकिस्तानका हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गइरहेका छन्, जसले बाढी र पहिरोको जोखिम झनै बढाएको छ ।
