भर्खरै : Sorry, your browser does not support inline SVG.

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ

मुख्य बुँदा

वीरगन्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ बरामद ।

नगदसहित चार जना पक्राउ ।

पक्राउ पर्नेमा एक भारतीय र तीन नेपाली नागरिक ।

दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई आदर्शनगरबाट पक्राउ गरिएको ।

५ सय र १ हजार रुपैयाँ दरका नोट बरामद ।

रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको ।

पर्सा, २६ साउन । प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित पर्साको वीरगन्ज महानगरपालिकाबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन नेपाली र एक भारतीय नागरिक रहेका छन् ।

प्रहरीका अनुसार सोमबार साँझ वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा स्रोत नखुलेको नगद फेला परेको हो ।

पक्राउ पर्नेमा भारतको सीतामढी घर भएका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र सोही ठाउँका २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको विन्दबासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन् ।

पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार उनीहरूबाट बरामद रकमको स्रोत खुल्न सकेको छैन । प्रहरीले रकमसहित चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।

बरामद रकममा ५ सय र १ हजार रुपैयाँ दरका नोट रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चार जना प्रदेश २–०३–००३ प ७२१५ नम्बरको सुपर स्प्लेन्डर र ना. ५७ प ५१८२ नम्बरको एफजेड मोटरसाइकलमा सवार थिए । प्रहरीले बरामद रकमको स्रोत तथा घटनाको वास्तविकताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.