काठमाडौँ, १ मंसिर । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिनुभएको थियो । त्यस क्रममा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक तथा महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभएको थियो । भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
