भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

विद्यार्थीमाथि जातीय विभेद गरेपछि प्राध्यापक पदमुक्त, पीएन क्याम्पसको कडा निर्णय

विद्यार्थीमाथि जातीय विभेद गरेपछि प्राध्यापक पदमुक्त, पीएन क्याम्पसको कडा निर्णय

पोखरा, ३१ बैशाख । शैक्षिक गढको रूपमा चिनिएको पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा जातीय विभेदको आरोपमा एकजना प्राध्यापकलाई विभागीय प्रमुख पदबाट हटाइएको छ।

एमबीए (फाइनान्स) कार्यक्रमअन्तर्गत वैशाख २९ गतेको औद्योगिक अवलोकन भ्रमणको क्रममा विषय शिक्षक डा. देवीलाल शर्माले विद्यार्थी अमन परियारमाथि जातीय अपमानजनक शब्द प्रयोग गरी गाली गरेको उजुरी क्याम्पस प्रशासनसम्म पुगेपछि पदबाट हात धुनुपरेकाे हो।

विद्यार्थीमाथि भएको यो विभेदप्रति दलित विद्यार्थी समाज, स्वतन्त्र विद्यार्थी युनियन र तेराइ ल स्टुडेण्ट एशोसियसनले आ–आफ्नो विज्ञप्ति मार्फत गम्भीर आपत्ति जनाएका थिए। दलित विद्यार्थी समाजका अध्यक्ष अमृत बिकले भने, “शैक्षिक भ्रमणको नाममा गरिएको जातीय घृणा हाम्रो अस्तित्व र आत्मसम्मानमाथिको हमला हो।”

स्ववियुका अध्यक्ष विष्णु पोखरेलले पनि क्याम्पसजस्तो शिक्षालयमा यस्ता विभेदकारी व्यवहार सह्य नहुने बताउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए। घटनालाई थप गम्भीर बनाउने गरी प्राध्यापक शर्माले परियारको शैक्षिक प्रमाणपत्र रोक्ने चेतावनी दिएको आरोपसमेत सार्वजनिक भएको थियो।

विवाद चुलिँदै जाँदा क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा १९ अनुसार शर्मालाई विभागीय प्रमुख पदबाट पदमुक्त गरेको जानकारी पत्रमार्फत दिएको छ। पत्रमा उल्लेख गरिएको छ- “विशेष परिस्थितिका कारण तपाईंलाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखको जिम्मेवारीबाट हटाइएको छ।”

यो निर्णय शैक्षिक संस्थामा समानताको सवालमा सकारात्मक सन्देश दिनेसँगै भेदभावविरुद्धको शून्य सहनशीलताको प्रमाण बनेको विद्यार्थी संगठनहरूले बताएका छन्। अबको अपेक्षा-विभेदविरुद्धको आवाज केवल पदमुक्तिमा सीमित नहोस्, शैक्षिक संरचनाको गहिरो आत्मसमीक्षा होस्।

 


Thali Mobile Pvt.Ltd.