भर्खरै : Sorry, your browser does not support inline SVG.

रूसी राष्ट्रपति पुटिनद्वारा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव, शान्ति स्थापनामा नयाँ आशा

रूसी राष्ट्रपति पुटिनद्वारा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव, शान्ति स्थापनामा नयाँ आशा

काठमाण्डौ,  २८  जेठ । लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको छ। युद्धका कारण उत्पन्न मानवीय र भौतिक क्षतिहरूको समाधान खोज्न र दीगो शान्ति स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै पुटिनले उक्त प्रस्ताव सार्वजनिक गर्नुभएको हो।

बीबीसीरोयटर्सका अनुसार पुटिनले आउँदो बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ता गर्न चाहेको र त्यसका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई मध्यस्थता तथा समन्वयको भूमिका खेलिदिन आग्रह गर्नुभएको छ। एर्दोगानले यसबारे सकारात्मक प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

पुटिनले अहिले निर्णय गर्ने जिम्मा युक्रेनी अधिकारीहरूको हातमा रहेको उल्लेख गर्दै शान्तिको ढोका अझै खुला रहेको संकेत दिनुभएको छ। तर अहिलेसम्म युक्रेनले यस प्रस्तावमा आधिकारिक प्रतिक्रिया दिएको छैन।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्धविरामका लागि दुवै पक्षमाथि दबाव दिँदै आएको जनाइएको छ। हालसालै अमेरिका र युक्रेनबीच महत्वपूर्ण खनिज सम्झौता सम्पन्न भएको पृष्ठभूमिमा यो वार्ता प्रस्ताव आएको हो।

यता, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क तथा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले संयुक्त रूपमा युक्रेनको राजधानी कीएभ भ्रमण गरी युक्रेनप्रतिको समर्थन पुनः व्यक्त गरेका छन्।

रूसको तर्फबाट आएको यो प्रत्यक्ष वार्ताको प्रस्तावले युद्ध अन्त्यका लागि नयाँ सम्भावनाको ढोका खोल्न सक्छ, तर यसको सार्थकता युक्रेनको प्रतिक्रियामा निर्भर रहनेछ।

 


Thali Mobile Pvt.Ltd.