मुख्य बुँदा
काठमाडौँ उपत्यकामा नयाँ वर्षसँगै रात्रिकालीन बस सेवा सुरु भएको छ ।
सेवा काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठका सहकार्यमा सञ्चालनमा आएको हो ।
हाल ७ वटा विद्युतीय बस राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भइरहेका छन् ।
बसमा वाइफाइ, सिसीटिभी र नगर प्रहरी सुरक्षा व्यवस्था गरिएको छ ।
मुख्य रुट: लगनखेल–बुढानीलकण्ठ र थानकोट–एयरपोर्ट ।
काठमाडाैं, २ बैशाख । नयाँ वर्षसँगै काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालनमा आएको छ। काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बूढानीलकण्ठ स्थानीय तहको सहकार्यमा सुरु गरिएको यो सेवाले रातिको समयमा सार्वजनिक यातायातलाई सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
हाल ७ वटा विद्युतीय बस सञ्चालनमा ल्याइएको छ। बसमा यात्रु सुरक्षाका लागि सिसीटिभी क्यामेरा, वाइफाइ सुविधा र नगर प्रहरीको व्यवस्था गरिएको छ। ललितपुरको लगनखेलदेखि बूढानीलकण्ठसम्मको एउटा रुट सञ्चालनमा छ, जसमा पाटन अस्पताल, नर्भिक, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल हुँदै गन्तव्य जोडिन्छ। यो रुट करिब १६ किलोमिटर लामो छ।
त्यसैगरी थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म अर्को रुट सञ्चालनमा छ, जसले सतुङ्गल, कलंकी, माइतीघर, बानेश्वर हुँदै २० किलोमिटर दूरी पार गर्छ। महानगरका अनुसार बसहरू साझ यातायातसँगको सहकार्यमा सञ्चालन गरिएको हो र प्रारम्भिक चरणमा लागत व्यवस्थापन साझ यातायातले गर्नेछ।
आगामी दिनमा स्थानीय तहहरूले संयुक्त रूपमा सञ्चालन खर्च व्यहोर्ने योजना छ। यो सेवाले रातिको समयमा यात्रुहरूलाई सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायात उपलब्ध गराउने अपेक्षा गरिएको छ।