कालीकोटमा भेटियो रेडपान्डा

कालीकोटमा भेटियो रेडपान्डा

मुख्य बुँदा

कालीकोटका तिलागुफा, महावै र शुभकालिका क्षेत्रमा रेडपान्डा भेटियो।

रुरुबन्चु पाटन, हाउडी लेक र महावु पाटनमा बासस्थान पुष्टि।

संरक्षण निकाय र स्थानीय तहबीच समन्वयमा संरक्षण प्रयास जारी।

बाँस र निगालो जंगल रेडपान्डाको मुख्य बासस्थान।

डढेलो, मानवीय गतिविधि र कुकुरको आक्रमणले बासस्थान जोखिममा।

स्थानीयलाई जनचेतना र वन संरक्षणमा जोड दिइँदै।

कालीकोट, ३ जेठ । कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा ९हाब्रे० भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिका रेडपान्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैरसरकारी संस्थाहरुले जनाएका छन् ।

तिलागुफा नगरपालिका–१० को रुरुबन्चु पाटन, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा र महावै गाउँपालिका–२ को महावै पाटन क्षेत्रमा रेडपाण्डा भेटिएको उनीहरुको भनाइ छ ।

तिलागुफा नगरपालिका–१० स्थित रेडपान्डा संरक्षण वन क्षेत्र रुडुबञ्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेडपान्डा भेटिएको हुरन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीपकुमार शाहीले बताए ।

“संस्थाले समुदायलाई संरक्षणमा लाग्न सचेतना जगाउने र बासस्थानका रुपमा रहेका निगालो एवं बाँसको जङ्गल नमास्न स्थानीयलाई आग्रह गर्दै आएको छ”, उनले भने, “पालिकामा संरक्षणका क्षेत्रमा प्रभावकारी रुपमा भइरहेको छ ।”

तिलागुफा नगरपालिकाका प्रमुख महेन्द्रबहादुर शाहीले रुरुबञ्चु पाटनमा रेडपान्डा भेटिएको जानकारी दिँदा यसको संरक्षणका लागि स्थानीय तहले पहल गर्दै आएको बताए । “विगतमा नगरपालिकाको पर्यटकीय क्षेत्रसमेत रहेको रुरुबन्चु पाटनमा रेडपान्डा भएको स्थानीयले बताउँदै आएका थिए ।

अहिले अनुसन्धान गर्दै जाँदा दुर्लभ बन्यजन्तु रेडपान्डा भेटिएको छ”, उनले भने, “संरक्षणका लागि नगरपालिकाले सङ्घसंस्था मिलेर काम गरिरहेको छ । अहिले स्थानीयलाई जनचेतना जगाउने काम भइरहेको छ ।”

त्यस्तै, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा पनि रेडपान्डाको बासस्थान भेटिएका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । “हामीले विगतमा नै हाउडी लेकलगायत क्षेत्रमा रेडपान्डा भेटिएको पत्ता लगाएका थियौँ”, उनले भने ।

महावै गाउँपालिकाको महावु पाटन क्षेत्रमा रेडपान्डाको उचित बासस्थान रहेको र त्यस क्षेत्रमा पनि रेडपान्डा भेटिएको गाउँपालिकाले जनाएको छ । रेडपान्डा विशेषगरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्छ । जङ्गलमा घाँसदाउरा गर्दा हुने मानवीय चाप, डढेलो र कुकुरको आक्रमणका कारण रेडपान्डाको बासस्थान सङ्कट पर्र्दै गएको संरक्षणकर्मीहरुले बताउने गरेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.