भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

इरान सम्झौतादेखि युक्रेन युद्धसम्म : जी–७ नेताहरूको साझा सन्देश

इरान सम्झौतादेखि युक्रेन युद्धसम्म : जी–७ नेताहरूको साझा सन्देश

एजेन्सी । फ्रान्सको एभियन–ले–बैँसमा जारी जी–७ शिखर सम्मेलनमा इरान–अमेरिका सम्झौता प्रमुख एजेन्डाका रूपमा उभिएको छ। विश्वका सात प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले उक्त समझदारीको स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलनका क्रममा इरानसँग भएको सम्झौताको पूर्ण विवरण केही दिनभित्र सार्वजनिक गरिने बताएका छन्। यद्यपि सम्झौताका केही पक्ष अझै स्पष्ट नभएको र विशेषगरी लेबनानसँग सम्बन्धित विषयमा मतभेद कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

इरानले सम्झौताका लागि इजरायलले लेबनानबाट आफ्नो सैन्य उपस्थिति अन्त्य गर्नुपर्ने माग राखेको छ। तर अमेरिकी अधिकारीहरूले उक्त विषय सम्झौतामा समावेश नभएको स्पष्ट पारेका छन्।

सम्मेलनमा जी–७ राष्ट्रहरूले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनप्रतिको आफ्नो समर्थन पुनः दोहोर्‍याएका छन्। साथै इरानसँग दीर्घकालीन र व्यापक कूटनीतिक समझदारी आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्।

सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित विभिन्न अरब राष्ट्रका नेताहरूसँग भेटवार्ता गरेका छन्। जी–७ सदस्य राष्ट्रहरूले लेबनानमा तत्काल युद्धविराम, हेजबुल्लाहको निःशस्त्रीकरणका प्रयास तथा गाजामा मानवीय सहायता र पुनर्निर्माण कार्यक्रम विस्तारलाई पनि समर्थन जनाएका छन्।

इन्डो–प्यासिफिक क्षेत्रको सन्दर्भमा पूर्वी तथा दक्षिण चीन सागर र ताइवान जलमार्गमा बल प्रयोग वा दबाबमार्फत यथास्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध गर्ने साझा धारणा पनि सम्मेलनले व्यक्त गरेको छ।

विश्लेषकहरूका अनुसार सम्मेलनका निर्णयहरूले युक्रेन युद्ध, मध्यपूर्वको सुरक्षा अवस्था र विश्व आर्थिक स्थिरताजस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा जी–७ राष्ट्रहरूको साझा दृष्टिकोणलाई प्रतिबिम्बित गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.