काठमाडौं । सत्ता र विपक्षी दलबीच सहमति भएपछि नेपाल रेडक्रस सोसाइटीको विवाद अन्त्य भएको छ । रेडक्रसमा क्रियाशील रहेका दुई समानान्तर समितिबीच समायोजन भएको छ ।नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भागबण्डा गरेका छन् ।
कांग्रेस निकट सुदर्शनप्रसाद नेपाल अध्यक्ष रहनेछन् भने एमालेनिकट चन्द्रकला कार्की उपाध्यक्ष र एकीकृत समाजवादी निकट भूपतिलाल श्रेष्ठ महामन्त्री रहने सहमति भएको छ । पदाधिकारीका सबै दललाई भाग पुर्याउने गरी सहमति गरिएको छ । रेडक्रसमा ३३ जनाको निर्वाचित कार्यसमिति र दुई जना मनोनित गरेर बढीमा ३५ जनाको समिति हुने विधानले व्यवस्था गरेको छ ।
अघिल्लो कार्यकालको अध्यक्ष र समाज कल्याण परिषद्ले तोकेको एक जना गरी दुई जना मात्रै मनोनित गर्ने व्यवस्था छ । उक्त व्यवस्था विपरीत ५६ जनाको तदर्थ समिति बनाइएको छ ।केन्द्रीय समितिलाई मनोनित गर्ने अधिकार नभएको नेत्र तिम्सिना नेतृत्वको समितिका महामन्त्री दीपेन्द्र ढकाल बताउँछन् । विधानले ३३ निर्वाचितसहित बढीमा ३५ जनाको समिति बनाउन भनेको छ । ५६ जना बनाएर विधान मिच्ने काम भएको उनको भनाइ छ ।
तदर्थ समितिमा सबैभन्दा ठूलो हिस्सेदारी कांग्रेसले पाएको छ । केन्द्रीय समितिमा कांग्रेसबाट अध्यक्ष, उपाध्यक्ष, उपमहामन्त्री र सदस्य गरी २५ जनाले पद पाएका छन् ।कांग्रेसबाट प्राध्यापक सुर्दशनप्रसाद नेपाल अध्यक्ष, सुरेन्द्रसिंह ऐन उपाध्यक्ष र मनोजकुमार थापा उपमहामन्त्री बनेका छन् । भागबण्डा गर्ने सहमति जुटेपछि एमाले समर्थित पूर्वअध्यक्ष डा. नेत्र तिम्सिनाले अदालतमा पेश गरेको अवहेलनाको मुद्दा फिर्ता लिएका छन् ।
तिम्सिना अध्यक्ष हुँदा उपाध्यक्षको भूमिकामा रहेकी चन्द्रकला कार्कीलाई सोही पदमा कायम राख्ने सहमति जुटेको छ । सत्ताको नेतृत्व गरेको एमालेलाई पदाधिकारीमा कार्यकारी भूमिका भने दिइएको छैन । एमालेबाट १७ जनाले भाग पाए । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रबाट ८ जना समितिमा समावेश छन् । माओवादीबाट राधा नेपाली उपाध्यक्ष र बीरबहादुर बस्नेत कोषाध्यक्ष बनेका छन् ।
अर्को प्रतिपक्ष दल एकीकृत समाजवादीलाई महामन्त्री र उपकोषाध्यक्ष सहित ६ जना केन्द्रीय सदस्य दिइएको छ । एकीकृत समाजवादी निकट भूपतिलाल श्रेष्ठ महामन्त्री बनेका छन् । चार दलमा सहमति बनेपछि अध्यक्ष नेपाल, उपाध्यक्ष राधा नेपाली, महामन्त्री श्रेष्ठ र उपमहामन्त्री मनोजकुमार थापा अन्तर्राष्ट्रिय रेडक्रसको कार्यालय स्वीटजरल्याण्डको जेनेभा गएका छन् । केन्द्रीय समिति भागवण्डाबाट टुङ्ग्याउन चार दल सहमत बनेपछि तिम्सिना पक्षले चलाउँदै आएको तदर्थ समिति भंग भएको छ । २०७७ सालदेखि रेडक्रस तदर्थ समितिमा चल्दै आएको छ ।
