एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस – युक्रेन युद्ध अन्त्यका लागि प्रस्तुत गरिएको २८ बुँदे शान्ति प्रस्तावलाई अन्तिम संस्करण नभएको स्पष्ट गरेका छन् ।
प्रस्ताव सार्वजनिक भएपछि सिमाना परिवर्तन र युक्रेनको सेनामा लागू गरिएका सीमाबारे सहयोगी राष्ट्रहरूले तीव्र चासो प्रकट गरेका थिए । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले प्रस्तुत प्रस्ताव ‘अन्तिम वा स्थायी’ नभई छलफल र संशोधनयोग्य भएको बताए । उनका अनुसार सहयोगी मुलुक तथा प्रभावित पक्षहरूको सुझावलाई ध्यानमा राखेर आवश्यक परे परिवर्तन गर्न सकिनेछ ।
दक्षिण अफ्रिकामा आयोजित जी–२० सम्मेलनमा सहभागी युरोपेली मुलुकका शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै शान्ति प्रस्तावका केही बुँदामा पुनर्विचार आवश्यक रहेको बताएका थिए। उनीहरूले बलपूर्वक सिमाना परिवर्तन गर्न खोज्ने अभ्यास स्वीकार्य नहुने र युक्रेनको सेनामा राखिएको सीमा भविष्यमा सुरक्षा जोखिम बन्न सक्ने चेतावनी दिएका छन् ।
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी दबाबका बीच प्रस्तावलाई सम्भावित समाधानको आधारका रूपमा लिन सकिने प्रतिक्रिया दिएका छन्। उनले रुसको आक्रामकता रोक्न सहमतिसँगै युक्रेनको दीर्घकालीन सुरक्षा र सार्वभौमिकताको ग्यारेन्टी आवश्यक रहेको उल्लेख गरे।
आलोचकहरूले भने अमेरिकी प्रस्ताव रुसलाई फाइदा पुग्ने कुरा समावेश भएको आरोप लगाउँदै त्यसमा सुधार आवश्यक रहेको बताएका छन्।
