भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

शान्ति खोज्दै मकालु पदमार्ग

शान्ति खोज्दै मकालु पदमार्ग

काठमाडौँ, ३ माघ । प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा हिँड्न चाहनेका लागि सङ्खुवासभाको मकालु पदमार्ग उपयुक्त गन्तव्य बनेको छ। भीडभाड र कोलाहलबाट टाढा, हिमाल, जंगल, खोल्सा र सांस्कृतिक बस्तीको संयोजनले यो पदमार्गलाई विशेष बनाएको छ।

मकालु हिमाल मकालु–बरूण राष्ट्रिय निकुञ्जभित्र पर्दछ। सरकारले २०४९ सालमा स्थापना गरेको यो निकुञ्जको क्षेत्रफल करिब १,५०० वर्ग किलोमिटर छ। निकुञ्जको उचाइ ४३५ मिटरदेखि ८,४८५ मिटरसम्म फैलिएको छ। यसको पश्चिमतर्फ सगरमाथा राष्ट्रिय निकुञ्ज र उत्तरतर्फ तिब्बतको चोमोलोङ्मा संरक्षण क्षेत्र पर्दछ।

यस पदमार्गमा जाने पर्यटकहरू प्रायः तुम्लिङटार वा खाँदबारीबाट यात्रा सुरु गर्छन्। करिब ८ दिनको पदयात्रापछि मकालु बेसक्याम्प पुगिन्छ भने फर्किन करिब ३ दिन लाग्दछ। यात्राका क्रममा सेदुवा, टासीगाउँ, खोङ्मा डाँडा, दोबाटे, याङ्ला खर्क र लाङ्माले हुँदै मकालु बेसक्याम्प पुगिन्छ।

भोटे, राई, शेर्पा लगायत जातजातिको बसोबास रहेको यस क्षेत्रमा २,१०० मिटर उचाइमा रहेको टासीगाउँ शेर्पा समुदायको मुख्य बस्ती हो। यस गाउँभन्दा माथि स्थायी बस्ती छैन, तर पदयात्रीहरूका लागि ठाउँ–ठाउँमा होटल तथा बास बस्ने सुविधा उपलब्ध छन्।

टासीगाउँमा प्रायः घरघरमै हिमाल आरोहण तथा पदयात्राका लागि व्यावसायिक गाइड भेटिन्छन्। यहाँ व्यवस्थित होटल, हेलिप्याड, स्वास्थ्यचौकीको सुविधा छ भने भरिया पनि सजिलै पाइन्छन्। गाउँका अधिकांश युवक पर्यटन व्यवसायमै संलग्न छन्।

टासीगाउँबाट करिब ७ घन्टा उकालो चढेपछि ३,६६० मिटर उचाइमा रहेको खोङ्मा डाँडा पुगिन्छ, जहाँ दुईवटा घर मात्र छन्। यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण हिमशृंखला र मकालु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ। त्यहाँ बास बसेपछि भोलिपल्ट सानो पोखरी, ठूलो पोखरी हुँदै ४,२५० मिटर उचाइमा रहेको सिप्तन्ला भन्ज्याङ पार गरेर ३,८६० मिटर उचाइको दोबाटे पुगिन्छ।

दोबाटेबाट बरुण नदीको बगर हुँदै छैटौँ क्याम्प याङ्ला खर्क पुगिन्छ। याङ्ला खर्कबाट करिब ४ घन्टाको यात्रापछि ४,५०० मिटर उचाइको लाङ्माले क्याम्प पुगिन्छ। त्यहाँ एक दिन बास बसेपछि ४ घण्टाको यात्रामा ५,९०० मिटर उचाइमा रहेको मकालु बेसक्याम्प पुगिन्छ। यहाँ स्थायी बस्तीका नाममा तीनवटा घर मात्र भएकाले अधिकांश पर्यटक टेन्टमै बस्छन्।

यस पदमार्गमा शिवधारा, ताडोसा (४,००० मिटर), हामाफोजुङ (आमाछोरा पहाड) जस्ता धार्मिक तथा सांस्कृतिक महत्त्वका स्थान पनि पर्दछन्। यहाँ डाँफे, हिमाली काग, भ्याकुरा, मुनाल, कालिज, रेडपान्डा, विभिन्न प्रजातिका पुतली तथा जंगलमा रंगीचंगी फूल अवलोकन गर्न सकिन्छ।

विदेशी पर्यटकका लागि यो पदमार्ग करिब आधा दशकदेखि मात्र खुलेको हो। निकुञ्ज कार्यालयका अनुसार प्रत्येक वर्ष यहाँ आउने विदेशी पर्यटकको संख्या बढ्दो छ। गत वर्ष मात्रै १ हजार ४१४ जनाले मकालु पदमार्गको सफल पदयात्रा गरेका थिए।

प्राकृतिक शान्ति, हिमाली दृश्य, सांस्कृतिक बस्ती र साहसिक यात्राको संयोजन खोज्नेका लागि मकालु पदमार्ग नेपालकै उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

 


Thali Mobile Pvt.Ltd.