भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तराईमा तीन दिन तातो लहरको जोखिम, सावधानी अपनाउन आग्रह

तराईमा तीन दिन तातो लहरको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाण्डौ, २२ जेठ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका तराई भेगमा तातो हावाको लहर (हीट वेभ) र अत्यधिक गर्मी हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने सम्भावना रहेको छ। हिजो भैरहवामा ४१ डिग्री र नेपालगञ्जमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।

मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तीन दिनसम्म मध्यम तातो लहर रहने अनुमान पनि गरिएको छ। विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट सुस्तापश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

त्यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी बर्दघाट सुस्तापूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमबारे जानकारी राखिरहन सुझाव दिइएको छ।

तातो हावाका कारण थकान लाग्ने, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाममा बाहिर ननिस्कन, निस्कनै परे छाता वा टोपी प्रयोग गर्न, हल्का रङका कपडा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र स्वास्थ्यकर खाना खान सुझाव दिएको छ।

साथै बिहान वा साँझको चिसो समयमा मात्र खेतबारी तथा बाहिरी काम गर्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा समस्या देखिए स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली क्षेत्रमा भने केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

 


Thali Mobile Pvt.Ltd.