भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

तराईमा तीन दिन तातो लहरको जोखिम, सावधानी अपनाउन आग्रह

तराईमा तीन दिन तातो लहरको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाण्डौ, २२ जेठ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका तराई भेगमा तातो हावाको लहर (हीट वेभ) र अत्यधिक गर्मी हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने सम्भावना रहेको छ। हिजो भैरहवामा ४१ डिग्री र नेपालगञ्जमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।

मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तीन दिनसम्म मध्यम तातो लहर रहने अनुमान पनि गरिएको छ। विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट सुस्तापश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

त्यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी बर्दघाट सुस्तापूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमबारे जानकारी राखिरहन सुझाव दिइएको छ।

तातो हावाका कारण थकान लाग्ने, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाममा बाहिर ननिस्कन, निस्कनै परे छाता वा टोपी प्रयोग गर्न, हल्का रङका कपडा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र स्वास्थ्यकर खाना खान सुझाव दिएको छ।

साथै बिहान वा साँझको चिसो समयमा मात्र खेतबारी तथा बाहिरी काम गर्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा समस्या देखिए स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली क्षेत्रमा भने केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

 


Thali Mobile Pvt.Ltd.