एजेन्सी, २२ जेठ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहका प्रमुख नाइम कासेमले लेबनान र इजरायलका प्रतिनिधिहरूबीच घोषणा गरिएको सशर्त युद्धविराम स्वीकार गर्न नसकिने बताएका छन्।
कासेमले बृहत् र स्थायी युद्धविरामसँगै लेबनानी भूमिबाट इजरायली सेनाको पूर्ण फिर्ती हुनुपर्ने माग गरेका छन्। उनका अनुसार ती सर्त पूरा नभए उत्तरी इजरायलमा नयाँ आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।
अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूबीच सशर्त युद्धविरामका विषयमा सहमति बनेको सार्वजनिक भएपछि हिजबुल्लाहको प्रतिक्रिया आएको हो।
यता लेबनानका राष्ट्रपतिले उक्त सहमतिलाई जारी द्वन्द्व अन्त्य गर्ने ‘अन्तिम अवसर’ का रूपमा व्याख्या गरेका छन्। तर हिजबुल्लाहले इजरायल–लेबनानबीच भएको वार्तालाई अस्वीकार गर्दै आफ्नो अडान कायम राखेको छ।
हाल इजरायली सेना लेबनानको सीमावर्ती क्षेत्रमा तैनाथ रहेको छ भने इरान समर्थित हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण जारी राखेको बताइएको छ। यसले क्षेत्रीय तनाव थप बढ्ने चिन्ता उत्पन्न गरेको छ।
