भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

लुम्बिनी र सुदूरपश्चिमको तराईमा तातो दिन कायम, सतर्क रहन सुझाव

लुम्बिनी र सुदूरपश्चिमको तराईमा तातो दिन कायम, सतर्क रहन सुझाव

काठमाडौं, ३ जेठ । देशका विभिन्न तराई क्षेत्रमा गर्मी उल्लेखनीय रूपमा बढ्दै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको आंशिक प्रभाव रहे पनि विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था अझै कायम रहने सम्भावना छ।

पर्याप्त वर्षा हुन नसक्दा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही, दाङ तथा आसपासका जिल्लामा चर्को घाम र उच्च तापक्रमको प्रभाव बढेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहे पनि मनसुनको सक्रियता मुख्य रूपमा पहाडी र हिमाली क्षेत्रमा केन्द्रित छ। आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यद्यपि लुम्बिनी र सुदूरपश्चिमका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने र गर्मी यथावत् रहने अनुमान गरिएको छ। लगातारको उच्च तापक्रमका कारण बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा खुला स्थानमा काम गर्ने श्रमिकहरू बढी प्रभावित हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

स्वास्थ्य सुरक्षाका लागि प्रशस्त पानी पिउने, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कने, हल्का तथा सुती कपडा लगाउने र ‘हिट स्ट्रोक’का लक्षण देखिएमा तत्काल चिकित्सकीय परामर्श लिन सुझाव दिइएको छ। महाशाखाका अनुसार तत्काल तराई क्षेत्रमा मनसुन पूर्ण रूपमा सक्रिय हुने सम्भावना देखिएको छैन।

 


Thali Mobile Pvt.Ltd.