भक्तपुर । राजधानी नजिकै रहेको भक्तपुर । अझ भक्तपुर नेपालकै सानो जिल्ला । यो सानो जिल्लाले प्रतिनिधित्वको गरेको छ विशाल नेपालको । यहाँ विभिन्न किसिमका कला कौशलहरु रहेका छन् । यहाँ निर्माण भएका मठ, मन्दिर, पाटी, पौवा र पोखरीहरुले समग्र नेपालको प्रतिनिधित्व गरिरहेका छन् । भक्तपुरमा रहेको एउटा सुन्दर पोखरी जसको सुन्दरताले पछिल्लो समय सबैलाई लोभ्याइरहेको छ ।
यहाँ पुग्ने जो कोही पनि यस पोखरीको सुन्दरताको वर्णन गर्ने गर्दछन् । त्यो सुन्दर पोखरी हो भक्तपुरको ऐतिहासिक रानीपोखरी । भक्तपुरको सल्लाघारीमा अवस्थित रानीपोखरी काठमाडांै उपत्यकामा निर्माण गरिएका रानीपोखरी भन्दा पुरानो पोखरी हो । यस रानीपोखरीलाई न्हुः पुखुको नामले चिनिन्छ । रानीपोखरीको स्थापना राजा जगज्योती मल्लले नेपाल संवत ७५० मा गर्न लगाएको भए पनि ने.स. ७ सय ९८ मा राजा जितामित्र मल्लले पोखरीको निर्माणलाई अगाडी बढाएका थिए ।
रानीपोखरी लामो समय देखि नेपाली सेनाको संरक्षणमा रहेको थियो । हाल रानीपोखरी भक्तपुर नगरपालिकाले नेपाली सेनासँग समन्वय गरी सार्वजानिक स्थलको रुपमा प्रयोग गर्न थालिएको छ । देश संघीयतामा गएसंगै २०७४ मा अधिकार स्थानीय निकायमा गए पश्चात भक्तपुर नगरपालिकाले हरेक महिनाको १ गते र १५ गते सरसफाई कार्यक्रम सञ्चालन गर्ने क्रममा रानीपोखरीलाई केन्द्रित गरी सरसफाई गरी भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र जनप्रतिनिधि सहित नेपाली सेनाको प्रधानकार्यलयमा रानीपोखरी र टुडिखेल पुन: निर्माण गर्न र सिद्धपोखरीको उत्तर तर्फको चौर सर्वसाधारणलाई प्रयोग गर्ने लिखित सम्झौता भएपछि रानीपोखरीले नयाँ रुप पाएको हो ।
रानीपोखरीको सरसफाई ११ लाखमा सम्पन्न भएको भक्तपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिनुभयो । पोखरी पुनः निर्माण गर्न भक्तपुर नगरपालिकाद्वारा संञ्चालित खव्प इन्जिनियरिङ कलेज, भक्तपुर नगरपालिकाका प्राविधिक, स्थानीय जनताले सिमांकन गरि सम्पदा शाखाले डिजाईन गरे अनुसार भक्तपुर नगरपालिकाले पोखरीको पुनः निर्माण गर्न चरणबद्ध रूपमा बजेट विनियोजन गर्दै तीन वटा उपभोक्ता समिति गठन गरि निर्माण गरेको अध्यक्ष खत्रीको भनाई छ ।
पोखरी निर्माण गर्न ३ करोड ५० लाख रुपैया बजेट बिनियोजन गरे पनि ऐतिहासिक सम्पदा निर्माण गर्न भक्तपुर नगरपालिकाका विभिन्न वडा, विभिन्न विद्यालयका विद्यार्थी, युवा, स्थानीय जनता साथै विभिन्न जिल्लाबाट समेत सहयोग प्राप्त भएकाले रानीपोखरी पुनः निर्माण लगभग २ करोड ५० लाखमा सम्पन्न भएको उहाँले बताउनुभयो ।
रानीपोखरी सरसफाईको निम्ति भक्तपुर नगरपालिकाले २ जना सरसफाई मजदुर खटिएको छ ।
हप्ताको २-३ पटक पोखरीको सरसफाई गर्ने गरिन्छ । रानीपोखरी घुम्न आउने पर्यटकको आकर्षण र भक्तपुर नगरपालिको आर्थिक विकासको लागि पोखरीमा माछा समेत राखिएको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटन आउने हुँदा पर्किङ निर्माणको लागि छलफल र प्रयास भईरहेको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । यस पोखरीमा शान्त वातावरणको आनन्द लिन, स्वास्थ्य राम्रो बनाउन दैनिक मानिसहरु आउँने गरेका छन् ।
ऐतिहासिक रानीपोखरीको वातावरण रमणिय र शान्तपूर्ण रहेकाले यहाँ आउन पाउँदा आफूलाई धेरै खुसी मिलेको स्थानीय पर्यटक कृपा कोजुले बताउनुभयो । उहाँले यहाँ आउँदा मनमा शान्ति मिल्ने भएकाले आफू पोखरीमा टहलिन आएका जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाले रानीपोखरीलाई संरक्षण गरेर सार्वजनिक गरेपछि यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो लाग्ने गरेको छ । भक्तपुर नगरपालिकाले जनताका लागि खुल्ला गराएको पोखरीका कारण यस क्षेत्र वरपरको व्यापारमा वृद्धि भइरहेको रानीका गुरुङ्गको भनाई छ ।
मानिसको सार्वजनिक जिवनलाई सुन्दर, रमाईलो र आनन्दमय बनाउन पोखरीहरुको महत्व धेरै रहेको रानीपोखरीमा दैनिक शारीरिक ब्यायम गर्न आउने प्रकाश श्रेष्ठले बताउनुभयो । उहाँले सार्वजानिक शौचालयको सुविधा रहेको खण्डमा यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अझ बढी सहज हुने श्रेष्ठले सुझाए ।
आफ्ना स्थानीय कला संस्कृतिलाई जोगाउँन भक्तपुर नगरपालिका मात्रै होइन देशका ७ सय ५३ वटै पालिकाहरु लाग्नु पर्ने देखिन्छ । भक्तपुरको रानीपोखरी जस्तै रमणिय वातावरणमा पोखरी निर्माण गर्दै गएमा राजधानीको कोलाहलबाट मुक्ति पाउँनेमा कसैको दुइमत छैन । (कैलाश खबरका लागि नितेश नाखन, मनिला प्रजापति, निमा योञ्जन, ससिस कर्मचार्य भक्तपुर)
