ट्रम्पले १० देखि ५४ प्रतिशतसम्म आयात करको घोषणा : कुन देशको सामानमा कति कर लाग्ने ?

ट्रम्पले १० देखि ५४ प्रतिशतसम्म आयात करको घोषणा : कुन देशको सामानमा कति कर लाग्ने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट अमेरिकामा आयात हुने सामानमा न्यूनतम १० प्रतिशतदेखि अधिकतम ५४ प्रतिशतसम्म आयात कर लगाउने घोषणा गरेका छन्। यो नयाँ नीति आगामी अप्रिल ९, २०२५ देखि लागू हुने बताइएको छ। ट्रम्पले यो निर्णयलाई अमेरिकाको ‘स्वतन्त्रता दिवस’ को संज्ञा दिँदै नयाँ आर्थिक युगको सुरुवात भएको दाबी गरेका छन्।

कुन देशको सामानमा कति कर ?
बेलायतबाट अमेरिका पुग्ने सामानमा १० प्रतिशत आयात कर लाग्नेछ। त्यस्तै युरोपेली युनियनका देशहरूबाट आयात हुने सामानमा २० प्रतिशत कर निर्धारण गरिएको छ। अमेरिकामा सबैभन्दा धेरै सामान निर्यात गर्ने देशमध्ये एक चीनका सामग्रीमा ५४ प्रतिशतसम्म कर लगाउने निर्णय भएको छ। त्यसैगरी सबै विदेशी सवारी साधनमा मध्यरातदेखि नै लागू हुने गरी २५ प्रतिशत कर घोषणा गरिएको छ। 

यो घोषणा ट्रम्पले व्हाइट हाउसको रोज गार्डेनमा आयोजित एक समारोहमा गरेका हुन्। उनले यो नीतिले अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउने र स्वदेशी उद्योगलाई संरक्षण गर्ने दाबीसमेत गरेका छन्।

अमेरिकामा दुई धारणा
ट्रम्पको यो निर्णयले अमेरिकामा मिश्रित प्रतिक्रिया निम्त्याएको छ। रिपब्लिकन पार्टीले यसलाई सकारात्मक कदमको रूपमा स्वागत गरेको छ भने डेमोक्र्याटिक पार्टीले यसले अमेरिकी अर्थतन्त्रलाई संकटमा पार्न सक्ने चेतावनी दिएको छ। डेमोक्र्याट नेताहरूले कर वृद्धिले उपभोक्ता मूल्यमा असर पर्ने र विश्व व्यापारमा तनाव बढाउने आशंका व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय प्रतिक्रिया
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको यो नीतिले विश्व व्यापारको संरचनामै परिवर्तन ल्याउन सक्ने बताएका छन्। उनले क्यानडा र अमेरिकाबीचको व्यापार सम्बन्धमा समेत यसले प्रभाव पार्ने संकेत गरेका छन्।

त्यस्तै यो नीति कार्यान्वयनमा आएपछि अमेरिकाको प्रमुख व्यापारिक साझेदारहरूले जवाफी कदम चाल्ने सम्भावना पनि बढेको छ। विश्व बजारमा यसको प्रभाव कस्तो हुन्छ भन्ने विषयमा अहिले नै ठोस अनुमान लगाउन कठिन छ, तर यो निर्णयले आर्थिक तरंग भने पक्कै ल्याउने देखिन्छ।

 


Thali Mobile Pvt.Ltd.