ट्रम्पद्वारा रुस–युक्रेनबीच ३ दिने युद्धविराम घोषणा

ट्रम्पद्वारा रुस–युक्रेनबीच ३ दिने युद्धविराम घोषणा

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन् । उनका अनुसार युद्धविराम मे ९ देखि ११ तारिखसम्म लागू हुनेछ ।

ट्रम्पले युद्धविराम अवधिमा दुवै देशबीच हजारौँ कैदी आदानप्रदान गरिने जानकारी दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुस र युक्रेनबीच अस्थायी रूपमा सबै सैन्य गतिविधि रोक्ने सहमति भएको बताएका हुन् ।

ट्रम्पले लेखेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु । रुस र युक्रेनबीच मे ९, १० र ११ मा तीन दिन युद्धविराम हुनेछ । रुसले विजय दिवस मनाउँदै छ भने युक्रेन पनि दोस्रो विश्वयुद्धको हिस्सा भएकाले यो अवसरलाई महत्वका साथ हेरिएको छ ।’

उनले दुवै देशका राष्ट्रपति भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्ताव स्वीकार गरिएको बताएका छन् । ट्रम्पका अनुसार युद्धविराम अवधिमा लडाइँका सम्पूर्ण गतिविधि रोकिनेछन् र कैदी आदानप्रदान प्रक्रिया अघि बढाइनेछ ।

ट्रम्पले यो कदम लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यतर्फको प्रारम्भिक प्रयास भएको विश्वास व्यक्त गरेका छन् । उनले दोस्रो विश्वयुद्धपछि यो सबैभन्दा ठूलो द्वन्द्वमध्ये एक भएको उल्लेख गर्दै शान्ति वार्ता जारी रहेको बताएका छन् ।

यता अमेरिका र इरानबीच भने तनाव बढ्दै गएको छ । दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.