काराकास (रासस/एपी) । भेनेजुएलाले संयुक्त राज्य अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनःस्थापनाका लागि औपचारिक वार्ता सुरु गर्ने घोषणा गरेको छ । भेनेजुएला सरकारका अनुसार दुवै देशबीच लामो समयदेखि टुटेको कूटनीतिक सम्बन्ध सुधार गर्ने उद्देश्यले अन्वेषणात्मक संवाद प्रक्रिया अघि बढाइएको हो ।
भेनेजुएलाका विदेश मन्त्री यभान गिलले जारी गरेको विज्ञप्तिमा अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको सरकारले अमेरिकासँग कूटनीतिक नियोग पुनःस्थापनाका लागि प्रारम्भिक कूटनीतिक प्रक्रिया सुरु गर्ने निर्णय गरेको जानकारी दिएका छन् । यस प्रक्रियाको उद्देश्य काराकास र वासिङ्टनमा दूतावास पुनः सञ्चालन गर्नु रहेको उल्लेख गरिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार सम्भावित चरणबद्ध वार्ताको सम्भावना मूल्याङ्कन गर्न शीर्ष अमेरिकी कूटनीतिज्ञ जोन म्याकनामारा सहितको टोली काराकास पुगेको छ । यस्तै, भेनेजुएलाले पनि वासिङ्टनमा प्रतिनिधिमण्डल पठाउने तयारी गरेको जनाएको छ ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँगको सम्बन्धमा नयाँ रणनीति अपनाइएको संकेत दिएका छन् । उनले भेनेजुएलामा कैदीहरूको रिहाइपछि दोस्रो चरणको सैन्य कारबाही फिर्ता लिइएको बताएका छन् । साथै, ट्रम्पले अमेरिकी तेल कम्पनीहरूसँग भेट गर्दै भेनेजुएलाको विशाल कच्चा तेल भण्डारमा लगानीको सम्भावनाबारे छलफल गरेका थिए । यद्यपि तेल कम्पनीहरूका प्रतिनिधिहरूले भेनेजुएलामा लगानी गर्न संरचनागत सुधार र कानुनी सुनिश्चितता आवश्यक रहेको धारणा राखेका छन् । ट्रम्पले भने हालको अवस्था अघिल्ला वर्षहरूको तुलनामा पूर्ण रूपमा फरक रहेको दाबी गरेका छन् ।
यसै क्रममा भेनेजुएलाले राजनीतिक बन्दीहरूलाई क्रमशः रिहा गर्न थालेको छ । लामो समयदेखि हिरासतमा रहेका बन्दीका आफन्तहरूले जेल बाहिर आशा र भावनात्मक प्रतिक्रिया व्यक्त गरेका छन् । सरकारले कूटनीतिक मार्गबाट अमेरिकी कारबाहीबारे समीक्षा जारी राख्ने पनि स्पष्ट पारेको छ ।
यता, मदुरोको रिहाइको माग गर्दै काराकासमा विरोध प्रदर्शनसमेत भएका छन् । प्रदर्शनकारीहरूले अमेरिकाको हस्तक्षेपको विरोध गर्दै भेनेजुएलाको सार्वभौमिकताको रक्षा गर्न आह्वान गरेका छन् । घटनाक्रमसँगै अन्तर्राष्ट्रिय समुदायले भेनेजुएला–अमेरिका सम्बन्धको भविष्यलाई चासोका साथ हेरिरहेको छ ।
