एक कमाण्डरको युद्ध संस्मरण
पृष्ठभूमी: शाही सेनाको दाङ जिल्लामा अवस्थित घोराही ब्यारेक आक्रमण गरी कब्जामा लिएका हात हतियार तथा लजिष्टिकहरु उठाएर रोल्पा तर्फ लाग्यौं । सरकारले संकटकाल र सर्च अप्रेशन शुरु ग¥यो । लगतै रातेमाटे र सल्यानको कपुरकोटमा आक्रमण ग¥यौं । ती आक्रमणमा असफल भयौं । सरकारी सर्च अभियानको मुख्य निशाना सेनाले रोल्पा र रुकुम बनायो ।
शाही सेना रुकुम र रोल्पा केन्द्रित भएपछि हामीले निर्णायक भूमिका र पहल्कद्मी लिन र सबक सिकाउन जरुरी ठानेर हामीले दैलेख जिल्लामा जनमुक्ति सेनाको फोर्स केन्द्रिकरण गर्यौं । पार्टीको योजना दैलेख सदरमुकाम माथि आक्रमण गर्ने थियो, तर हाम्रो केन्द्रिकरण दैलेखमा भएको थाहा पाएपछि शाही सेनाले फोर्स थप्यो र जिल्लामा अप्रेशन चलाउन थालेपछि हामीले अछामलाई निशाना बनायौं र तत्कालै अछाम आक्रमणको योजनातिर लाग्यौं ।
निशानाको भौतिक सर्बेक्षण, दुश्मनको फोर्टिपिकेशन, मनोबिज्ञान, डिसेसिभ पावर (कमाण्ड पावर), उसको दिउसोको क्रियाकलाप, रातीको क्रियाकलाप, गस्ती तथा अप्रेशनको रेन्ज र अबस्था सबै आंकलण गर्यौं । सबै मुल्याङ्कन सही भएको निष्कर्ष निकाल्यौं र अछाममा आक्रमण गर्ने निष्कर्षमा पुग्यौं । योजनाको रक्षा गर्ने, फोर्सको केन्द्रिकरण गर्ने, व्यवस्थापकीय तयारी गर्ने, सपोर्टिभ ब्यवस्थापनको तयारी गर्ने, प्राबिधिक केन्द्रिकरण र तयारी गर्ने, कमाण्ड र फोर्सको फर्मिंग गर्ने र डिटेल सर्बे गर्ने, तयारी तथा कोचिङ्गको स्थान तयारीमा जुट्यौं ।
पश्चिम आधार ईलाका कालिकोट
कालीकोट जिल्ला पश्चिमको हाम्रो आधार ईलाका थियो । त्यसैले फोर्स केन्द्रिकरण कालीकोटको लालु र मालकोटमा गर्ने निधो गर्यौं । जसको व्यवस्थापन गर्ने जिम्मा भेरी कर्णाली उप ब्यूरो र सेतीमहाकाली उप ब्यूराले लियो । प्राबिधिक तयारी र कोचिङ्गका लागि स्थान मालकोट छानियो । अछाम सदरमुकाम मंगलसेनमा रहेको शाही सेनाको ब्यारेक, जि.प्र.का र सि.डि.ओ. कार्यालय, एयरपोर्ट सुरक्षा, साफेबगरको प्रहरी चौकी आक्रमणका लागि कमाण्ड र ग्रुप छुट्याएर डिटेल सर्बेको जिम्मा दिइयो ।
माघ अन्तिम सातासम्म तयारीका सबै कामहरु पूरा भए । फोर्स केन्द्रीकरण भयो, सर्बेक्षणको सम्पूर्ण कुरा पूरा भयो, मुलतः प्राबिधिक तयारी सकियो । ब्यवस्थापकीय काम पनि पुरा भयो । खास गरी खाना, शेल्टर र सहयोगका लागि जनशक्ति पूर्ण तयार भयो । जनमुक्ति सेना लालु र माल्कोट केन्द्रीत भएको पत्ता लगाई शाही सेना कालिकोट सदरमुकाम हान्ने भ एभनेर दैलेख पछि कालिकोट फोर्स थप्न लाग्यो । यता हाम्रो निशाना र रक्षा सान्दार हुने भयो ।
किनकी शाही सेनाको ध्यान कालिकोट केन्द्रीत भयो र काउन्टर गर्ने योजना कालिकोट तर्फ नै भएको सूचना हामीले पायौं । हाम्रो निशाना अछामको मंगलसेन थियो । जनमुक्ति सेनाका कमाण्डर क. पासाङ्ग (नन्दकिशोर पुन)ले पहिलो पटक सेन्डमोडलमा निशानाको कोचिङ्ग गर्नु भयो । आजको कोचिङ्ग फरक र अहिले नै आक्रमण गरौं र यदि सहिद भएपनि सबैभन्दा पहिला म सहिद हुनुपर्छ भन्ने भान मनमा लाग्थ्यो । यस भन्दा पहिले चित्र कोरेर (म्याप रिडिङ्ग) कोचिङ्ग गरिन्थ्यो । व्यवस्थित र हातहतियारको प्रयोग पनि यतिखेर भरपुर हुने भयो ।
हतियारको तयारी
हामीसंग रकेटलन्चर, एलएमजी, जिपिएमजि, एसएलआर, टुइन्च मोटार, एट्टी वनको सहि प्रयोग गर्ने तयारी भयो ।LMG-GPMG को सही सेटिंग, LMG ग्रुप, GPMG ग्रुप, रकेटलन्चर ग्रप जस्ता नयाँ कक सेटहरु बनायौं । २०५८ फाल्गुन १ को जनयुद्ध दिबस यस्तै तयारीकै बीच मनाइयो ।
निशाना
फाल्गुन २ गते कालिकोट मालकोटबाट हिड्यौं निकै लामो लावालस्कर सहित । हरेकका घरको छानामा रातो झण्डा फहराईरहेकोे, जनता हाम्रो तमासा हेर्न र बिदाई गर्न बाटो भरी लाम लागेका थिए । कालिकोट हाम्रो आधार इलाका भएकोले आज राति होईन, दिउसो नै हिड्यौं । अछाम र कालीकोटको सीमानामा भयंकर हिँउ जमेको थियो ।
लावालस्करको बीचमा थिएँ म । हिँउ माथि पुगे पछि लाईन त घण्टौं भयो सर्दैसर्दैन । ओरालो ठाउँमा चिप्लिने कारणले रहेछ । त्यो बेला गोल्डस्टार बाहेक अरु जुत्ता कहाँ पाइन्थ्यो र । तर गोल्डस्टार जुत्ता त हिँउमा यसरी लर्किने कि हिड्नै नमिल्ने ।
हिँउको विकल्प जुत्ता माथि मोजा
कमाण्डरका हैसियतले मैले सिकेको उपाय सबैलाई सिकाए । कि जुत्ता माथि मोजा लगाउँ । सबैले जत्ता माथि मोजा लगायौं । किन कि मुख्य उदेश्य थियो चिप्लिनबाट रोक्ने । हिडाई निरन्तर जारि र¥यो । हिँउमा चिप्लिनु त कम भयो तर मोजामा भने भ्वांग परेर कामै नलाग्ने भए । हिँउमा ओरालो झदै गर्दा पौने नौ बज्यो (८ः४५) । विविसी नेपाली सेवा सुन्यौं । हिँउ छिचोल्दै ओरालो सकेर तल खोल्सीनेर पुग्यौं ।
घना जंगल भएकाले कहीँबाट देखिदैन थियो । हिँउमा कति साथीहरु कठ्याङ्ग्रीए । त्यही जंगलको पारिलो ठाउँमा आगो बाल्न लगाएँ । जति सक्दो आगो ठूलो बनायौं र म आफै चौकीदार बसेँ । राम्रो जति कसैलाई आगो ताप्न दिएन, लखेटी हाल्थें, काठ्ठीएका (कठ्याङ्ग्रीएका)हरुलाई मात्र आगो ताप्न दिन्थ्येँ । शुरुमा टाढाबाट आगौ ताप्ने अनि नजिक फेरी झन नजिक गरेर तंगरिने गर्दै पठाउथ्यौं । यसो गर्नुको तात्पर्य थियो, हिँउले काठ्ठीएको बेला नजिकबाट आगो ताप्यो भने रगत जम्ने बढी खतरा हुन्छ ।
त्यसैले क्रमशः न्यानो पार्दै लैजानु सही तरिका ठान्यौं । यसो गर्दै गर्दा रातको २ः०० बज्यो । लाईन पास भयो, चार पाँच जना बहिनीहरु त हिड्नै नसक्ने अवस्थामा भए । ति बहिनीहरुलाइै साथीहरुले घिसारेर लिए । हात घोडा लाग्दैन थियो । बोल्नै नसक्ने भएका कारण चिन्ताले सताइर¥यो । हात हतियारको भारी घिसारेर लग्नुको विकल्प पनि थिएन । बिचराहरु एकसरो पातला कुर्ता सुर्वालसंग त्यो पनि हिउमा लर्किएर सबै भिजेको । उनीहरुलाई थप आगो तपाएर हिडन सक्ने गरायौं ।
२ घण्टाको हिँउको बाटो लावालस्करका लागि यो समय अति कस्टकर बन्यो । अछाम पुगेर हामी एउटा गोठमा पस्यौं । सुत्ने तरखर गर्यौं किनकी हामी त्यहाँ जम्मा ८÷१० जना मात्र बाकीँकि थियौं । ४÷५ जनी बहिनीहरुको हालत एकदमै खराब थियो । खानाको कुनै गुन्जायसै भएन । गोठमा पसेर अगेनामा आगो बाल्यौं । बहिनीहरु आगो तापीरहेका थिए हामी भने निदाएछौं । बहिनीहरु खर तानेर ओछ्याए अनि भएको १÷१ सोल ओडेर सुते छन् । बिहान उज्यालो भयो सबैलाई उठाएँ ।
अरु उठे तर ति बहिनीहरु हँ त भन्छन् तर उठदैनन् । चिसो कपडा खोलेर सुकाए छन्, र सलसंग मात्र सुतेछन् । बिहान अरु नउठ्दै उठेर कपडा लगाउँला भन्ने सोचिन् तर उठ्न नै सकेनन् । बहिनीहरु उठन नमाने पछि हामी हिड्यौं, तपाईहरु आउँदै गर्नुहोला भन्यौं । हामी हिडेको निकै समय पछि बहिनीहरुले हामीलाई भेट्न पुगे । हामी भन्दा अगाडि राती हिडेका साथीहरुको ढोब बिचित्रका थिए ।
अध्यारोको हिडाई लाइट भएर नि बाल्न अनुमति छैन । बाटोको छेउबाटै अर्कै झन ठूलो बाटो बनेको, घुम्नु पर्नेमा नघुमेर सोझै घिर्सिएको, समाउँदा काँडैकाँडा भएको चुत्राको बोट समेत बोक्रैसंग खुइलिएर बिजोग । बाटो भरी कसैले लाइट झारेको त कसैले के झारेको । हेर्दै अनौठो र बिरक्त लाग्दो अवस्था । त्यो दिनको शेल्टर रामेरोसनमा भयो । त्यहाँबाट साँफेबगरका लागि जाने साथीहरुसंग छुट्टियौं । साँझ ओरालो झर्यौं र चापामाण्डौको एउटा झंगली खोलामा दोश्रो शेल्टर लियौं ।
२०५८ फाल्गुन ४ गते मंगलसेन आक्रमण
फाल्गुन ४ गते हामी मंगलसेन आक्रमणका लागि लावालस्करसहित दिउसै हिड्यौं । हात हातमा बन्दुक, ग्रुप विभिजन अनुसार हात हतियार, हरेकको कम्मरमा गोली र बम, पठ्यूमा फाइटर झोला, कसैका हातमा माइन त कसैका हातमा माइनको स्टेन र वायरहरु । घाइते बोक्न काटेर ठिक्क पारिएका डोकाहरु, बाककसका स्टेचरहरु, शहिद भएमा चिहान खन्ने कोदाली र घैंटीबिल्चाहरुसहितका स्वयम सेवकहरुलस्कर ।
औषधीय सामाग्रीहरु अनि मेडिकल टिम आफ्नै तामझाममा अनि यि बिचित्रका मान्छेहरुको बिचित्र हर्कत हेरेर होला गाउँलेहरु टोलाएर हामीलाई एकोहोरो हेरी रहेका थिए । जब फोर्स फर्मिंग प्वान्टमा पुगेर आ–आफ्नो आर्कतिर लाग्दै गर्दा सबैको हौसला बढाउन बाटोमा उभ्भीएर सबैसंग हात मिलाउंदै बिदा गर्दै थिएँ, कपिलबस्तुका क. विकल्प मेरो अगाडि आए ।
उनले भने, “दाई यस पटक त शहिद हुने मेरै पालो होला है ।” भनेर गहभरी आंसु बनाए र हात मिलाई बिदा भए । त्यो क्षेण छोरा जस्तै माया अनि गाइड गरी लिएको मान्छेले यसो भन्दा साह्रै भाबुक भएँ रोए तर समालिए, किनकि म कमाण्डर, यस्तो भावनामा बहकने छुट थिएन । त्यो आक्रमणमा उनलाई केही भएन बरु म मरेर बाँचेँ ।
हाम्रो त्यो बिदाई साच्चै अन्तिम भयो । हाम्रो मुख्य निशाना शाही सेनाको ब्यारेक थियो । जिल्ला प्रहरी कार्यालय र सिडिओ कार्यालयको कारबाही कमाण्डर म थिएँ । मुख्य कमाण्डर र मुल कमाण्ड ग्रुप र राम्रा हतियारहरु सबै ब्यारेकमा केन्द्रित गरिएको थियो । किनकि ब्यारेक कब्जा नै मुल मक्सद थियो । त्यस बेलासम्म सञ्चार सेटको सुबिधा थिएन । केवल पुर्व योजनाका आधारमा र मानवीय सम्पर्कद्वारा मात्र सम्भव थियो ।
आक्रमणको त्यो क्षण र रातको १ः०० बजे फायर खोल्ने आदेश
सबै हिसाबले तयार भएर रातको १ः०० बजे फायर खोल्ने आदेश थियो । सोहि मुताविक हामी गति र समय मिलाएर आर्कसम्म बिना अबरोध फोर्स पूर्यायौं । सबै आ–आफ्नो आर्कमा पुगेर तयारीमा बसे । १ः०० बज्न मात्र के पाको थियो, ड्याम्…ड्याम…फायर खुल्यो । मुल कन्ट्रोल प्वाइन्टमा पुग्नु थियो । तिब्र अफेन्सका साथ कन्ट्रोल गर्दै फस्ट लाइन सेन्ट्री पोष्ट र आउटर बंकर कब्जामा लगिहाल्यौँ ।
मलाई प्रहरीको मुल गेट पट्टीको आर्क कन्ट्रोल हुनेमा डाउट थियो । त्यसैले म गएको आर्कबाट पूरा स्पिडमा कभर गर्न लगाएँ । मैले अवस्थितिको अव्जर्वेशन गरेँ । जुन ग्रुपलाई मुल गेटको जिम्मा दिएको थिए, त्यसको अत्तोपत्तो थिएन । बरु सुर्खेतको जिल्ला स्तरको प्लाटूनको कमाण्ड गरेको कमाण्डर क.अर्जुनले मुलगेट कन्ट्रोल गरेका रहेछन् ।
खुशीको श्वास फेरें, धन्न काँचो कमाण्डरले यस्तो परिपक्व र आँटिलो पहल लिए । तर अगुवा भनिएको कमाण्डरको हबिगत हेर्दा दुःख लाग्यो । क. अर्जुनको त्यही लडाईमा शहादत भयो । ग्रुप नपुर्याउने कमाण्डर केही समय पछि पलायन भए ।
मृत्युलाई छोएको त्यो क्षण
म प्रहरी कै बंकरलाई आड (कभर)को रुपमा प्रयोग गरेर अव्जरभेशन गर्दै गर्दा स्थिति कन्ट्रोलमा आएको खबर मेरो मुख्य कमाण्डर कहाँ पठाउने बारे प्रपन्च मिलाउदैं थिएँ, म एक्कै चोटी गोली लागेर भूईमा पछारिएँ । हाम्रो आगमनको जानकारी पाए पछि प्रहरीले पछाडिको घरहरुमा मान्छे राखेको रहेछ । तिनैको गोली लाग्नु, थाहा पाउनु र ढल्नु एकै चोटी भयो । करेन्टको झट्का लागे झै एकै चोटी भूईमा पछारिएँ ।
मेरो शरिरको देब्रे भाग मेरो वस र कन्ट्रोलमा थिएन । “पिरो भयो, पिरो भयो ।” भनेर गोली लागेको संकेत साथीहरुलाई दिएँ । गोली लाग्यो भन्नलाई हाम्रो कोड भाषा थियो, “पिरो भयो”। जब मैले यो शब्द उच्चारण गरें, साथीहरुले भिषण फायर गरे तर मलाई उठाउन कोही आएनन् । कमाण्डर नै ढलेपछि सायद सबैमा एक खालको हताहती नै भयो । ड्यामेज क्रावलमा आफ्नो चल्ने अंगको उपयोगमा म झण्डै १०/१५ मिटर क्रावल गरेर मेरो स्टापहरु कहाँ पुगे । मेरो हातमा AK-47 थियो ।
कम्मरमा माउजर (पेस्तोल) थियो । बेल्टमा ३ लाख ५० हजार नगद थियो । सबै बुझाएँ यो तिमीहरू कै हो राख भने लगतै बेहोस् भएँछु । बेहोस भएपछि मेरोमा कुनै सेन्स नभएको साथिहरुले होसमा आएपछि सुनाएका थिए । म सानो छँदा एक पटक नराम्रो बिरामी परें, म मुछापर्दा मेरो छेउमा बा–आमा बसेर यो मर्यो भनेर रुन लाग्नु भयोछ । म बिउझिए, त्यसबेला म मा सेन्स थियो । तर यस पटक कुनै सेन्स थिएन । यस्तो आनन्द कि चीर आनम्द ।
म कति समय मृत प्राय भएं थाहा भएन । लामो समय पछि अलिअलि सेन्स आयो, सपना हो कि बिपना म अन्यौलमा परेँ । आँखा खुल्दैन, कान सन्दैन, मेरो आङ मेरो दिमागको वसमा थिएन । आँखा हेरेकै रहेछु, तर केही देख्दिन । एक्कै छिनमा सेनाले फालेको प्यारालाइटको तिखो रोसनीले मेरो आंखा खुल्यो । अब आकाशमा गोली सरसराएको देख्न थालेँ । रातमा फायर इफेक्ट हेर्न बीचबीचमा ट्रेसर राउण्ड(गोली) राखिएको हुन्छ त्यो देख्न थालें तर सपना हो या बिपना कन्फ्यूजमा परेँ ।
एकै छिनमा ठूलो धमाका सहित साथीहरुले माइन बिस्फोट गराए छन् । त्यसको धमाकाले मेरो कान खुल्यो । बम र गोलीको वर्षा देख्न र सुन्न सक्ने भएपछि अब म कहाँ छु भन्ने लाग्यो बल्ल बल्ल याद आयो कि म मंगलसेनको लडाईमा छु र घाइते भएको छु भन्ने थाहा भायो । घाऊ यसरी दुखेर आयो कि अब पो मर्छु जस्तो लाग्यो ।
वास्तबमा मृत्यूको अनुभूती मेरो जिन्दगीको चीर आनन्दको महसूस थियो । त्यसैले म कालसंग डराँदिन । जब म होसमा आएँ, पिडा असह्य थियो । गोली बीच छात्तीबाट देब्रे काखीमा निस्किएर त्यही गोली देब्रे पाखुरा छेडेर गए छ । हर्टसाइडबाट रगत त कति बग्यो बग्यो ।
मेरो पहिलो उपचार
म जव होसमा आएँ मेरा स्टाफहरु रोइकराई गरी रहेका थिए । मलाई हल्लाइरहेका थिए । एच.पि.(हेल्थ पोइन्ट) कहाँ छ भन्नुस् भन्दा मैले लडाई के भइरहेको छ लड्न जाऊ भन्दो रहेछु । फेरी भन्दा अरु घाइतेलाई लैजाऊ भन्दो रहेछु । होसमा आउने बेहोस हुने क्रमले बरबराउदो रहेछु । मेरै फूपु पर्ने क. ज्योतीले मलाई बेस्सरी हल्लाउदा अलिक होस आयो र एच.पि.सिकाएँ ।
कारण म कमाण्डर भएकोले सेटिंग थाहा थियो । अरुलाई त्यो बारे थाहा हुने कुरा भएन । एक छिनमा स्टेचर लिएर त्यसमा हाल्न खोजे घाउ दुखेर सम्भब भएन कारण मेरो करंगहरु धेरै भाचिने र गोलीले चुंडेको रहेछ । एक छिनमा काटेको डोको लिएर त्यसमा बसाल्न खोज्दा पनि प्राण फुस्किएला झै हुन्छ, त्यो पनि सम्भब भएन । पिठ्यूमा बोक्दा पनि मिलेन, कान्ला होंचा थिए ।
अन्तत कसरी खै आफै ३÷४ कान्ला झरें । जबरजस्ती स्टेचरमा राख्न भनेँ । मलाई एचपि पुर्याए, त्यहाँ अरु घाइते पनि थिए । डा. प्रभाकरले मलाई देखेर अरुको जिम्मा अरुलाई दिएर म कहाँ आएर मलाई नआत्तिनुस् सर ! नआत्तिनुस् ! भन्दै गर्दा म भन्दा उनी धेरै आत्तिएको देखेँ । मेरो घाउ उनैले सिलाउन लागे । घाउबाट हावा भित्रबाहिर गर्थ्याे, सबैले घाउबाट श्वास फेरिरहेको भन्थे ।
बाँच्ने आश मरेको क्षण
मेरो घाउ सिलाईसक्दा बिहानको उज्यालो भयो । लडाई टुंगिएको थिएन । मलाई चढाएको सलाइन आधा बोटल मात्र चढेको थियो । अब अगाडि पास गर्ने भन्ने भयो तर अरु घाइतेलाई लैजाँदा स्टेचर नै सकिए छ र गाउँलेको बास खोजेर नयाँ स्टेचर बनाएर मलाई त्यहाँबाट निकाल्दा बोक्ने दुईजना मात्र भए । एक जना जिल्ला नेता मेरा लागि खटे । उज्यालो भएपछि स्वयम् सेवकको रुपमा खटिएका गोउँलेहरु भाग्दै थिए ।
यो बिरामी लैजाऊ भन्दा पनि नमान्ने भएपछि उनीहरुको अगाडि तेर्सो लौरो फन्काएर ४ जनालाई लैजान मन्जुर गराए । मरिन्छ भनेर हताहती मानसिकताका ति स्वयम्सेवीले मंगलसेनको त्यती ठूलो ओरालो दगुराए । दगुराईले हल्लिएर मुर्छा पर्छु फेरी बिउिझन्छु । वाफरे तल खोला पुर्याए पछि मलाई बिसाऊ यही मर्छु भने तर प्राण त जान्न । खाएको औषधी सबै बमिट भएर जान्छ, बाच्ने आशै लगभग समाप्त भयो ।
क्रान्ति र जनयुद्धबारे चिन्ता भएन किनकि नेताहरु साथीहरु थिए, तर घरमा दुःख गरी बसेकी श्रीमती र छोरीका बिचल्ली हुन्छन कि भन्ने सुर्ता थियो । बाबा–आमा रोलान तर बिचल्लित हुन्नन् भन्ने लाग्थ्यो । खाली पेटमा औषधी नबसेर होला जसरी नि एक चक्की भए नि बिस्कुट निल्नुस् भनि डाक्टरले गरेको करले एक चक्की बिस्कुट बहुत मुस्किलले निलेँ ।
२ ट्यावलेट ब्रोफिन निलेँ । त्यसको केही समय पछि घाउ लठ्ठियो साथै तेर्सो बाटो अनि डाँडा काटेपछि बिस्तारै हिनाउँदा अलि सजिलो भयो । बाटो भरी कतिखेर कतिखेर मात्र बिउझिन्थ्ये । आकाशमा हेलिक्वप्टर घुमिरहेको देखिन्थ्यो फेरी बेहोस । समयको ख्याल भएन, दिउसोतिर चापामाण्डौं मुनि खोला बगरमा मलाई सुताएका थिए ।
बाच्ने आश पलाएको क्षण
सबै भेट्न आउथ्ये, छात्तीको चोटले होला मलाई बोल्न गाह्रो थियो । रगतले भिजेको मेरो कपडाहरु कैचीले काटेर निकाली दिए । एउटा कमिज चिनो राख्न भनेर नकाट्न भनें । त्यो कमिज तारा अन्टीले धोेईदिँदा खोला नै रातो भएको देखेर वहाँ रुनु भएको याद छ । चिनेका र नजिकका साथीहरु रुन्थेँ । सबैले मरिहाल्छ भन्ने सोचेका रहेछन तर मलाई भने त्यहाँबाट अब बाँच्छु भन्ने आश जाग्यो ।
क. अनन्तले मलाई हेर्न आउनु भयो तब मैले वहाँलाई भने, “अब म बाँचिहाल्छु, मलाई उ त्यो कालपानी गाउँमा छाडनुस्, एउटा स्वास्थ्य कर्मी छोडिदिनुस्, बरु फोर्सलाई छिटो भन्दा छिटो कर्णाली कटाउनुस् ।” वहाँले भन्नु भयो, “छोड्दैनौ मरे सँगसंगै बाँचे सँगसंगै बाँचौला” भन्दा म भावुक भएँ । सानो आश्वासनले कति धरिलो मनोबल बन्दो रहेछ ।
अर्धचेत र छटपटी
फेरी स्टेचरमा हालेर हिँडाए । कहिले काँही ओरालो झार्दा र उकालो चढाउँदा स्टेचरबाट खिस्किंदो रहेछु, तब थाहा पाउँथ्येँ । स्टेचरमा कपडाले तन्तन्ती बाँधेको थाहा पाउँथ्येँ । औषधीले लठ्याएको होकि दुखाईले हो होस प्राय हुन्थेँन । मध्यरातमा बिउझिँदा पानी प्यास लाइराथ्यो । दुखाई र पानी प्यासले म बिछट्टै छटपटिए । त्यो समय कति गाह्रो, पल पल कटाउन कति कठिन । घाइतेलाई एकै ठाउँमा सुताएका रहेछन् ।
हलचल गर्न नसक्ने हामी मूर्दा जस्ता थियौं तर आहाहा, उहू, अइया गर्दै बिरक्ती लाग्दो पिडाको कोलाहलमा । कोही चल्न उठन सके पो पानी खाने, पानी दिने साथीहरु भोका निन्द्रा खै कुन झाम्तातिर सुत्या होलान भन्ने लाग्यो । बिहान उज्यालो हुन लागेपछि साथीहरु आए तर आ–आफ्नो मान्छे खोज्न, उही नागेर यता जान्छन्, उही नागेर फेरी उता जान्छन् । पानी कल्ले ल्याइदिउन्, कल्ले सोधुन् सबै आ–आफ्नै धुनमा ।
घरभरीको घाइतेमा हामी ३ जना मात्र भयौं । छेवैको भाईलाई “मेरो नाम शरद हो बाहिर मलाई खोज्दै होला भित्र छ भनी दिनु है” भनेर सुझाएँ । किन यति हतारो गरे साथिहरुले भनेको त, नजिकै सेना आएर बसेको रहेछ र पोे त्यतिको हतारो गरेका रहेछन् । उनलाई बाहिर लग्ने बित्तिकै मेरो कमिस्नार क. हिमाल साथीहरुसंग हुत्तिएर म भएको ठाउ आए । पहिलो मलाई पानी दिनुस्, दोश्रो त्यो बचेको भाईलाई पनि लैजाने ब्यबस्था गर्नुस् भनेँ ।
पानी खुवाए, उनलाई नि लैजान्छौँ तर पहिलो तपाईलाई भनेर मलाई स्टेचरमा हालेर उकालो लगेँ । खासै जोडसंग बोल्न सक्दिन थें, कमिस्नार के भाको कसरी यस्तो भो ? भनेर सोध्थे । डाँडामा स–साना सल्लाघारी थिए । बिहानीको घाम थियो, साथीहरु बिसाउँदा मलाई स्टेचरमै भूईमा बसाएका थिए । दुई दिनमा बल्ल पिसाब लागेको महसुस् भयो र “पिसाब लाग्यो भनेँ ।” साथीहरुले त्यही फेर्नुस् तर मनले मानेन्, “खै मलाई उठाउनुस् त” भनें ।
उठाएपछि हिड्ने कोशिश गरें, खुट्टामा केही नभएकोले हिडेर अलिक पर गएं, भाईहरुले डोर्याए । बहिनीहरु पनि भएकोले थोरै पर पुगे पछि दाँया हातको साहारामा पिसाब फेरें, फर्किएर स्टेचर भएको ठाउंमा डोर्याएर ल्याए । फेरी उही स्टेचरमा सुताइए । मैले घाइतेहरु छटपटाएको, रोएको अनि कोकोहोलो गरी छटपटिएको धेरै देखेको थिएँ । सबैलाई सहन, धैर्य गर्न सम्झाउथेँ । त्यसबेला मलाई नि गोली लागे सहन नसकेर बेइजत पो गर्छु कि भन्ने डर थियो ।
आज परीआउँदा सहन सकेकोमा कता कता खुशानुभूत भैरहेको थियो । त्यस ठाउँबाट अगाडि जाँदा मलाई मेरै साथीहरुले बोकेर लग्दै थिए । सेना आउन नदिन ब्लकिङ्गमा जाने ग्रुपको पछि पछि पो लगे छन् । अब कता हो कता ? एउटा गाउँमा पसेर बस्यौँ । मलाई आंगनमा घाममा सुताए । जाउलो बनाईदिए खाएँ । स्वास्थ्य कर्मी कोही छैन । औषधीको डोज सकिएर होला घाउ असाध्यै दुख्यो । गाउँमा एक जना अहेब रहेछन् बोलाए ।
ड्रेसिंग गर्न भनेर साथीहरुले कपडा खोली दिएको के को ड्रेसिंग गर्ला ? त्यो त घाउ देखेर डरले थर थर काप्न पो थाल्यो । हुन पनि घाउबाट हावा भित्र बाहिर गर्दथ्यो । नसक्ने भएपछि म आफैले यस्तो यस्तो औषधी देउ अनि जाउ भने । दिउसो दुई जना भाईहरुलाई बोलाएँ र डोको खोजेर ल्याउन पठाएँ । मेरो छेउमै ल्याउन लगाएर डोको बिरामी बोक्ने किसीमले काट्न लगाएँ । खर ल्याउन लगाएर बिट बान्न लगाएं, बोक्दा टाउको अडिने गरी काठ ताछ्न लगाएर अडनी बनाउन लगाएँ ।
टोउकोको सपोर्टका लागि कुममा लगाउने “खकन्ना” बनाएर फिट गर्न लगाएँ । भाई बहिनीहरु काँचा थिए, जान्दैन थेँ । त्यस ताका प्राय राती हिड्थ्यौँ , साँझ हिडने बेला मलाई डोकोमा हालेर बोक भन्दा पो बल्ल भाईबहिनीहरुले डोकोको रहस्य बुझे छन् । डोकोमा हाल्न मानेन्, तर मेरो जबरजस्तीले डोकोमा हाल्न लगाएँ । स्टेचरमा मलाई सजिलो त थियो तर हिडाउन धौ । मेरो सुबिधा भन्दा पनि मुभ मा सजिलोको लागि यसो गराएँ ।
रक्तिपानीको भेलले खराब रगत जम्न पाएन
ओहो डोकामा बसाए पछि भाँचिएका करंगहरु दोब्रीएर सहनै नसक्ने दुखाई, मेरो जबरजस्ती नै मेरो जीवनरक्षा साबित भयो । घाउ निचोरिएर रक्तिपानीको भेल नै बग्थ्यो । यसो हुँदा छात्ती भित्र खराब रगत जम्न पाएन । रात भरको हिडाई पछि मुख्य ग्रुप भएको ठाउँ पु¥याए । अर्को दिन बिरामीको क्याटेगोरी (Category) छुट्याइयो ।
यो लाईनमा आएका मध्ये म दैलेख जिल्लाका क. एभरेष्ट र रोल्पा कै क. सागर हामी ३ जनालाई (Critical Case) मा राखियो र इन्डियासम्म उपचारमा लग्ने (category) मा पर्याैं । अरु थप १३ जनालाई दुई ग्रुपमा भिन्न भिन्न ठाउँमा राखेर उपचार गर्ने भन्ने भयो । तेस्रो शेल्टरबाट मेरो फर्मेशनले मलाई छाडेर गयो । क. देश भन्ने एक भाई मात्र सहयोगी रहयो । म व्यवस्थापन टिमको जिम्मामा पठाइए । सुरक्षाका लागि कम्पनी सह–कमाण्डर क. योद्धा(पछि बेनी मोर्चामा शहिद)को कमाण्डमा एउटा टिम थियो ।
हामी चौथो सेल्टरमा थियौं, चारैतिर सेनाले ट्रुप्स झारेर घेराबन्दी गर्दै आइरहेको थियो । हेर्दा हेर्दै पारी गाउँमा मान्छे मार्दै घर जलाउदै आईहाल्यो । हामी ब्लक ग्रुप राखेर बिस्तारै कर्णाली नदिको किनारातीर झर्यौं । जंगलमा रात पर्यौं, हिड्दै गर्दा एक जना साथी दुख्यो दुख्यो भन्दै जोडजोडले चिच्याइरहेको थियो । बिसाउने बेला उसलाई मेरै छेउमा लिएर बिसाए, अझै कराई रहेको थियो । कानको लोतीसहित गालामा गोली लागेको रहेछ ।
अनि उसलाई साफसंग झपारेँ । किनकी हामीलाई बोक्ने साथीहरु भोक्कै, अनिदो अनि रातदिन नभनेर बोहिरहेका छन्, उनीहरुको मर्म पनि बुझिदिनु पर्दैन भनेर झपारे । अलिक पीडा दबाएर बस्नु, यी म रहरले डोकोमा हाली मागेको होइन नि दुख्या छ, अझै रक्तिपानीको भेल बगीरहेको छ, सहन सक्नु पर्छ भनें । हपारेँ, ढाडस दिएँ, त्यस पछि उ कराउन छोड्यो । साथीहरु म प्रति कृतज्ञ थिए ।
कर्णालीका सबै पुलहरु सिल र दुश्मनसंग आम्ने साम्ने
जब हामीलाई कर्णाली नदी पार गराउने कुरा आयो तब रिपोर्ट अनुसार कर्णालीका सबै पुलहरु सिल भएको भन्ने खबर आयो । मुख्य फोर्स अघिल्लो रात कटेको राकमको पुलमा पनि सेनाले ब्लक गरे छ । अब बिकल्प नाउ (डुंगा) मात्र थियो । त्यो पनि कर्णाली पारी रहेछ । दुईजना भाईहरु रातीको त्यो समय र हिँउपानी बग्ने कर्णालीमा पौडिएर पारी गएर नाउ त लिए, तर दुईजना भन्दा बढी बोक्न नसक्ने रहेछ ।
त्यहाँबाट २ घण्टा उत्तरतिर हिडे पछि चिलतडा घाटमा ७ जनासम्म चढ्न मिल्ने नाउ पायौं । रातभरी ओसारेर झन्डै ४०० जनाले कर्णाली पार गर्यौं । कर्णाली तरेपछि स्वयम्सेवकहरुलाई मलाई अगाडि नलग्न भने पछि सेवासिंह र बिरजीत डाक्टर आएपछि तिनीहरुसंगै लगे । अरु घाइते लगेर भेलतडी गाउँमा राख्छन् । मलाई बायाँ पाखामा लगें ।
बिहान मलाई घाममा निकाले, खाना भरखर पाक्दै थियो, राकमको सेना पारी डाँडा लसलस्ती आइ हाल्यो । डाँडामा आएर बिसायो, त्यही नजिकको कुनाको गाउँमा अरु सबै घाइतेहरु क. योद्धाको टिम म भएकैमा थियो । हामी ीःन् को रेन्जमै पथ्र्यौ । योद्धालाई तुरुन्त नजिकको डाँडामा ीःन् फिट गर्न भनेँ । त्यहाँ साथीहरुलाई बर्बाद पार्लान्, गोली चलाउन लागे भने यताबाट कभरिङ्ग फायर गर्नु अन्यथा नचलाउन भनेँ । उनले त्यसै गरे ।
डाँडामा सेना आरामले बस्दा घाइते समेत सबै मान्छे सिफ्ट भए । अलि अलिले नपुग्ने भएर राँगा काटेर पकाउँदै गरेको, भात पाकेको छाडेर ज्यान जोगाउनु पर्ने भयो । कति दिन देखिका भोका साथीहरु त्यस दिन पनि खानै पाएनन् । हामीले पकाएको खाना पछि शाही सेनाले भेटाएर मजाले उनीहरुले पो भोज मनाए । यता म रेन्जमा भएकोले साथीहरुलाई उठाउन लगाएँ । बिस्तारै हिडेर जंगल पसेँ के हिड्न सक्नु ! मुटु फुट्ला झै हुन्छ ।
चान्स भनौ वा मेरो सौभाग्य
उता मलाई बोक्ने साथीहरु डोको बोकेर मलाई छाडेर भागी हाले छन् । हार खाएर बसेको थिएँ, पारीबाट मान्छे बोक्ने डोको बोकेका साथीहरु आए मलाई बोकेर लगे । खासमा अघिल्लो साँझ मैले गाली गरेको साथी सेना आयो भनेपछि भागी हालेछ । त्यही डोको बोकेर साथीहरु आएका रहेछन् तर चान्स भनौ वा मेरो सौभाग्य त्यो आपतको बेला साथीहरु र डोको भेटियो । त्यस दिन पिपलकोट पुगेर साँझ एक छाक खाना खायौं ।अब घाइतेहरु तीनतिर बाँडिने भयौं ।
हामीलाई घुमाएर भए नि सुर्खेत निकाल्ने, अर्को एक ग्रुपलाई कालीकोटको लालु निकाल्ने र अर्को ग्रुपलाई पनि कालीकोट मै लैजाने निदो भयो । हाम्रो ग्रुप राती राती नै उकालो लाग्यो । घाइते बाकेर रात भरी हिड्न के सजिलो हुन्थ्यो । लर्किएर हो वा ठेस लागेर हो डोकोसंगै मल पोख्या झै फाल्थेँ । खकरक्क भइन्थ्यो, कस्तो समस्या पल पल मरी राख्नु पर्ने ? फेरी उठायो डोकोमा हाल्यो बोकेर लग्यो । बिहानीको उज्यालोसंगै भर्तालाग्ना लेख पुग्दै गर्दा हिँउमा पर्न गयौं ।
हिँउमा एकातिर चिप्लिने, अर्कोतिर गरुंगो लोड भएर हिँउमा धस्सीने । जति माथि गयो उति हिँउ बाख्लो अनि जति बाख्लो हिडनु उती गाह्रो । हामीलाई बोक्नेहरु जुन खुट्टा टेक्यो त्यही धस्सीने बल्ल बल्ल निकाल्यो अर्को ठाउं टेक्दा उहीं धस्सिन्छ । कति कठिन थियो, तल हेर्यो भिरैभिर यहीबाट लडाउँ छन् कि ? भन्ने उतै डर । मरिसकेको मान्छे बाँचे पछि झनै पो ज्यानको माया हुँदो रहेछ ।
भर्तालाग्नाको बाटो र बाँसुल्लेको बास
भर्तालाग्ना लेकदेखि पश्चिमबाट पूर्व तर्फ ओरालो लाग्नु पर्ने भयो । धेरैलामो उकालो उक्लिएपछि बिस्तारै बिस्तारै डोकाबाट निकाल्न लगाएर बिस्तारै हिड्ने कोशिस गरेँ । हिड्दै गएँ, पछि साथीहरुले डोकोमा राखेर बोके । डाँडा क्रस गरेपछि ओरालो झर्नु पर्ने भयो । तल एउटा गाउँ देखियो । माथि अलि सानो गाउँ र त्यसको भन्दा तल ठूलो गाउँ रहेछ । गाउँ भन्दा माथि कै जंगलमा पाटन जस्तै बाँसुल्लेमा बास बस्यौं ।
केही साथीहरु खाना पकाउन गाउँ पसे भने हामीलाई घाममा सुताए । भोको, अनिदो भएर होला साथीहरु सबै मस्तसंग निदाए । म अर्कोले उठाउने र सुताउने अवस्थामा थिएँ । उठाए पछि हिड्थेँ । घाममा पानी प्यासले प्याक प्याक, घामले पोल्ने, पानी खुवाउने कोही नजिक थिएनन् । म जोरले कराउन सक्दैन थिएँ । दुई जना साथी दुखाईले छटपटी रहेका थिए ।
सायद मलाई जस्तै पानी प्यास लाग्यो होला, घामले पोल्यो होला । दिउसो तिर खाना र पानी आयो । त्यो दिन पनि बाँसुल्लेमै बास बस्ने निधो भयो । अर्को दिन पनि त्यही बस्यौं । साँझ पख पारी राँगाजुजे भन्ने डाँडामा शाही सेनाको लस्कर उकालो लागेको देखियो । बीचमा एउटा खोल्सी मात्र थियो । यतिकैमा पूर्व तर्फबाट एउटा हेलीकप्टर भूई भूई आयो । हाम्रो पल्लो डाँडामा मेरै कम्पनी रहेछ, हेलीकप्टर माथि गोली चलाए ।
भो आपद अब त हाम्रो लोकेशन पनि एक्सपोज भयो । त्यो गाउँबाट हामी पूर्वी खोल्सा छिप्दै छिप्दै हिड्यौं । पारी डाँडामा पनि शाही सेना आयो भन्ने खवर पायौं । त्यसैले खोल्सा खोल्सी हुदै जंगलमा सल्लाह गर्यौं । मैले राँगाजुजा सेना बसेको डाँडा मुनी गाउँ छ कि छैन भने ? साथीहरुले तल एउटा गाउँछ भने । त्यो गाउँ कस्तो हो ? कोही शंकास्पद मान्छे छन् कि छैनन् ? भनेर सोधेँ ।
त्यो गाउँ शंकास्पद छैन, राम्रै छ भन्ने खबर पाएपछि हामी राती त्यही जाउँ सुरक्षित हुन्छ भनेँ । शुरुमा अनकनाए तर पछि सबै सहमत भए पछि राती त्यही पुर्छाहुदै छेपाडी गाउँमा गएर गुपचुपमा बस्यौं । गाउँमा जनताको भावनाले जित्यो । हामी सुरक्षित छौं भन्ने लाग्यो । सेना माथितिरबाट गयो । हामी फर्किएर राकम नजिक जो अप्रेशन गरी सकेको भूगोल हो त्यहाँ सिफ्ट भयौं ।
सुकबहादुर राेका ‘शरद’
(लेखक तत्कालिन पूर्व जनमुक्ति सेना नेपालका पाँचौ डिभिजन कमाण्डर र हाल उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ्गका प्रमुख स्वाकीय सचिव हुन् )
जनयुद्व दिवसकाे अवसरमा लिएकाे भिडियाे अन्तरवार्ता हेर्न यहाँ क्लिक गर्नुहाेला..
