भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै

सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै

काठमाडौं, २७ साउन । सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या तथा भ्रामक सूचना, ‘डिपफेक’, ‘हेट स्पिच’ र साइबर ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रविधिमैत्री अनुसन्धान तथा निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोगले नागरिकबीचको सद्भाव खल्बलिनुका साथै शान्ति सुरक्षामा समेत चुनौती उत्पन्न गर्न सक्ने भएकाले प्रहरी त्यसप्रति सचेत रहेको बताएका छन्। उनका अनुसार सामाजिक सञ्जालमार्फत हुने गलत गतिविधि नियन्त्रणका लागि प्रहरीको जनशक्ति र प्रविधि दुवैलाई थप सक्षम बनाउने काम भइरहेको छ।

त्यस्ता गतिविधिको निगरानी तथा अनुसन्धानका लागि साइबर ब्युरोलाई थप साधनस्रोत सम्पन्न बनाउने र प्रविधिमा दक्ष जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ। प्रहरीले ‘एडभान्स्ड एनालिटिक्स सेल’ मार्फत सामाजिक सञ्जालमा भइरहेका गतिविधिको निगरानीलाई समेत प्रभावकारी बनाउँदै लगेको छ।

महानिरीक्षक कार्कीले मिथ्या तथा भ्रामक सूचना, डिपफेक र घृणाजन्य अभिव्यक्तिले सामाजिक सद्भावमा असर पार्न सक्ने भएकाले त्यस्ता सामग्रीको स्रोत पहिचान गरी कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकता दिइएको बताए। यसका लागि सम्बन्धित सेवा प्रदायक, सरकारी निकाय तथा अन्य सरोकारवाला संस्थासँग समन्वय भइरहेको उनको भनाइ छ।

सामाजिक सञ्जालको दुरुपयोगसँगै पछिल्लो समय अनलाइन ठगी पनि प्रहरीका लागि प्रमुख चुनौती बन्दै गएको छ। अनलाइन लटरी परेको भन्दै ठगी गर्ने, केवाइसी अद्यावधिकका नाममा व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, ओटीपी लिएर रकम निकाल्ने तथा विभिन्न प्रलोभन देखाएर आर्थिक ठगी गर्ने घटना बढिरहेको प्रहरीले जनाएको छ।

यस्ता अपराध नियन्त्रणका लागि नागरिक सचेतनासँगै अनुसन्धान र कारबाहीलाई अघि बढाइएको महानिरीक्षक कार्कीले बताए। आफूले चिठ्ठा नै नहालेको अवस्थामा चिठ्ठा परेको भन्दै आउने सन्देशमा विश्वास नगर्न, अपरिचित व्यक्तिलाई ओटीपी नदिन तथा बैंक वा वित्तीय संस्थाको नाममा फोन आएको भरमा व्यक्तिगत विवरण उपलब्ध नगराउन प्रहरीले आग्रह गर्दै आएको छ।

साइबर ठगी नियन्त्रणका लागि प्रहरीले ‘एन्टी साइबर स्क्याम सेन्टर’ स्थापना गर्ने अवधारणा समेत अघि बढाएको छ। प्रस्तावित संयन्त्रमा बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक, प्रहरी र दूरसञ्चार क्षेत्रका प्रतिनिधिबीच समन्वय गरी ठगी भएको जानकारी पाउनेबित्तिकै तत्काल प्रतिक्रिया दिन सकिने व्यवस्था गरिनेछ।

यस्तै, प्रहरीले ‘इमिडिएट फाइनान्सियल फ्रड रिपोर्टिङ सिस्टम’ अर्थात् ई–रिपोर्टिङ प्रणाली विकास गर्ने तयारी गरेको छ। उक्त प्रणालीमार्फत नागरिकले आफू ठगीमा परेको सूचना तत्काल प्रहरीलाई दिन सक्नेछन्। सूचना प्राप्त हुनासाथ सम्बन्धित बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र प्रहरीबीच समन्वय गरी आर्थिक क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

साइबर अपराध अनुसन्धानमा प्रहरीले अन्तर्राष्ट्रिय सहकार्यलाई समेत प्राथमिकता दिएको छ। सामाजिक सञ्जाल तथा डिजिटल सेवा प्रदायकका अधिकांश संरचना नेपालबाहिर रहेकाले इन्टरपोल, विभिन्न मुलुकका प्रहरी तथा सम्बन्धित प्रविधि सेवा प्रदायकसँग समन्वय गरी अनुसन्धान अघि बढाइरहेको महानिरीक्षक कार्कीले बताए।

यसैगरी, सार्वजनिक स्थलमा जडान गरिएका सर्भिलेन्स क्यामेरालाई क्रमशः कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग जोड्ने तयारी पनि भइरहेको छ। भीडभाड हुने स्थानमा एआईको प्रयोग गरी अनुहार पहिचानलगायतका प्रविधि प्रयोग गर्ने योजना रहेको प्रहरीले जनाएको छ।

महानिरीक्षक कार्कीले प्रविधिको विकाससँगै अपराधको स्वरूप पनि परिवर्तन भइरहेकाले परम्परागत प्रहरी कार्यशैलीबाट मात्रै नयाँ चुनौतीको सामना गर्न नसकिने बताए। सामाजिक सञ्जालबाट फैलिने गलत सूचना र अफवाहले नागरिकबीच अविश्वास तथा तनाव सिर्जना गर्न सक्ने भएकाले प्रहरीले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ।

प्रहरीका अनुसार सूचना प्राप्त हुनेबित्तिकै सत्यता जाँच नगरी सामाजिक सञ्जालमा पुनःप्रसारण गर्नु पनि गलत सूचना फैलिनुको प्रमुख कारण हो। विद्यालय तहदेखि नै सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी सचेतना विस्तार गर्नुपर्ने आवश्यकता प्रहरीले औँल्याएको छ।

 


Thali Mobile Pvt.Ltd.