काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन नजिकिएसँगै आज मुलुकभर वडास्तरका अधिवेशन सुरु हुँदैछन् । डिजिटल प्रविधिको प्रयोग गरेर अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गर्ने एमाले पार्टी कार्यालयले जनाएको छ । कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन सम्पन्न हुने बताइएको छ ।
आगामी मङ्सिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन चितवनमा गर्ने समय तालिका सार्वजनिक गरेको एमालेले कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सबै महाधिवेशन प्रतिनिधि बन्ने छन् भने महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने एमालेले जनाएको छ ।
स्थायी कमिटी बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिसकेको छ । यसैबीच १० बुँदे प्रस्ताव कार्यान्वयन कार्यदलका संयोजक डा. भीमबहादुर रावलले भने १० बुँदे प्रस्तावको पूर्ण कार्यान्वयन नभएका संयोजक पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
