भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

इच्छाकामना–६ कुयालघारीमा पहिलोपटक बिजुली

इच्छाकामना–६ कुयालघारीमा पहिलोपटक बिजुली

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ कुयालघारीमा पहिलोपटक बिजुली बत्ती बलेको छ ।  प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले सोमबार ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गर्नुभयो । बिजुली बलेसँगै कुयलघारीका ८७ घर उज्यालो भएका छन् । गाउँमा पहिलोपटक बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् । रु ३१ लाखको लागतमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँमा बिजुलीबत्ती बालिएको हो । सो ठाउँमा कोरोना कहरका बीच पनि विद्युतीकरणको काम तीव्र पारिएको थियो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य पोखरेलले कुयालघारीमा बिजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले गाउँलाई उज्यालो बनाउन गरेको मेहेनत पूरा भएको बताउनुभयो । विभिन्न अप्ठ्यारा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत् प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै उहाँले सडक र बिजुली पुगेपछि दुर्गमका समस्या केही कम भएको बताउनुभयो । “म निर्वाचित हुँदा साविकको काउले, दाहाखानी, चन्डीभन्ज्याङमा बिजुली पुगेको थिएन”, उहाँले भन्नुभयो, “अहिले केही गाउँबाहेक सबै ठाउँमा बिजुली बल्छ ।” उहाँले अर्को वर्षभित्र इच्छाकामना गाउँपालिकामा विद्युतीकरणको काम सम्पन्न हुने बताउनुभयो ।

इच्छाकामना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले वषौँंदेखिको बिजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुशी भएको बताउँदै गाउँमा थप आयआर्जनको बाटो खुलेको बताउनुभयो । सबैको पहल, प्रयास र हातेमालोले गाउँमा ढिलै भए पनि बिजुली पुग्दा स्थानीयवासी निकै हर्षित भएको उहाँले बताउनुभयो । उहाँले आधामारा, तीनबाङ र बारसीभन्ज्याङमा बिजुली बत्ती बलिसकेको जानकारी दिनुभयो । अझै चार गाउँमा बत्ती बल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले बिजुली नहुँदा कुयलघारीका नागरिकले भोगेको पीडा देखेर आफूहरुले कोरोना कहरकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताउनुभयो । सो ठाउँमा ५० केभिएको ट्रान्सफर्मर र डेढ किलोमिटर ११ हजार भोल्टेजको लाइन जडान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले इच्छाकामनाका सबै वडामा विद्युत् पुगेको भन्दै बाँकी गाउँमा क्रमशः काम गरिने बताउनुभयो । सो ठाउँमा बिजुली बाल्नका लागि २०७६÷७७ मा बोलपत्र भएर काम अघि बढेको थियो । इच्छाकामना गाउँपालिकामा विद्युतीकरणका लागि केन्द्रीय सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ ।रासस

 


Thali Mobile Pvt.Ltd.