सर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, प्राक्टिल एक्सनको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा शुक्रबार प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न भएको हो । बैठकमा मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले प्रदेश विपद्सम्बन्धी बनेका ऐन, नियम, कार्यविधि, मापदण्ड र निर्देशिका सम्मिलित कार्यपत्र प्रस्तुत गरे ।
उनले कर्णालीका १० वटै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना भएको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डा. केशव शर्माले पूर्वसूचना प्रणालीको रणनीतिक कार्ययोजना, त्यसको निर्माण प्रक्रिया, उपाय, आवश्यकता र अन्तरालका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
