कर्णालीमा पाँच हजारलाई रोजगारी

कर्णालीमा पाँच हजारलाई रोजगारी

२१ साउन २०७७ सुर्खेत । प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जुम्लामा आर्थिक वर्ष २०७६÷७७ मा पाँच हजारले रोजगारी पाएका छन् । आठवटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गोरेटो बाटो, सडक मर्मत र ग्रामीण सडक निर्माणका कामसहित जिल्लाका बेरोजगार व्यक्तिले रोजगारी पाएका हुन् ।

एक आर्थिक वर्षमा कम्तीमा १०० दिनको रोजगारीमा सहभागी नभएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार अर्थात् कम्तीमा १०० दिन रोजगारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लामा बेरोजगारले बढीमा १५ देखि ३५ दिनसम्मको रोजगारी पाएका छन् ।

स्थानीय तहले छनोट गरेका बेरोजगारमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लाभरमा एक हजार ८४० र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत तीन हजार १६० जम्मा पाँच हजार जनाले रोजगार पाएका छन् ।

यहाँका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रममा रु ६४ लाखका दरले बजेट आएको र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहबीचको समन्वयमा सञ्चालित सो कार्यक्रमले बेरोजगार र कोरोनाले रोजगार गुमाएका व्यक्तिलाई रोजगार दिएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले बताए ।

 


Thali Mobile Pvt.Ltd.