काठमाडौं । नेपाली काँग्रेस १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काँग्रेस प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । पदाधिकारी उम्मेदवारहरु मतदान सुरु हुँदै गर्दा लाइनमा पुगेर मत मागिरहेका छन् ।
केन्द्रीय निर्वाचन समितिले काठमाडौंको भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र रहेको जानकारी दिएको हो । मतदान गर्न राष्ट्रिय सभागृहमा २९३ बुथ, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको हो ।
राष्ट्रिय सभागृह मतदानस्थलमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्ने जनाएको छ ।
त्यस्तै काँग्रेस निर्वाचन समिति सदस्य तेज रावलले २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको र सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिका रहेको बताए । भृकुटीमण्डप प्रांगणमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले मतदान गर्ने र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
केन्द्रीय निर्वाचन समितिले मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक गरेको थियो । मतदान साँझ ५ बजेसम्म चल्नेछ भने मतदानबाट सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्रीसहित केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

