काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विद्युतीय चुरोट (भेप) मा हालेर सुन तस्करी गरेको आरोपकाे प्रतिवेदन सरकारी वकिललाई बुझाएपछि कृष्णबहादुर महरा पुत्र राहुलसहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । सङ्गठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । उक्त कसुरमा राहुल, लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको हो ।
गुरुङ हाल फरार छन् भने छिरिङ ६१ किलो सुन तस्करीकासमेत आरोपी हुन् । विसं २०७९ पुस १० गते युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाइ ल्याएको नौ किलो सुन (आठ करोड ५५ लाख) तस्करी भएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत शुक्रबार उक्त प्रकरणमा सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो ।
