काठमाडौं । कारोना संक्रमणबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको छ । दुई सातादेखि नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्जमा उपचाररत सापकोटाको दिउँसो बिहिवार दिउसो ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
आईसीयूमा अक्सिजन दिएर उपचाररत वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ डा.सापकोटासहित कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ भने नेपालभरमृतकको संख्या ५०९ पुगेको छ । आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् ।
१ हजार ९११ संक्रमित थपिए
नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ। संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किएका छन् ।
उपत्यकामा ९४३ जना संक्रमित थपिए
काठमाडौँमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना गरी ९४३ संक्रमित थपिएका छन्। देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १ हजार ९११ जनामा संक्रमण पुष्टि भएको हो।
दुई स्थानीय तह सिल
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बैतडीका दुई स्थानीय तह सिल गरिएको छ । मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो । असोज १३ देखि असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको हो । यस्तै पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ ।

