काठमाडौं । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपाली राष्ट्रिय फुटबल टोलीले नेपालमै खेल्नेछ ।
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटवल सङ्घका प्रवक्ता किरण राईले बताए । नेपाल समूह ‘बी’मा रहेको छ ।
एएफसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ । कोरोना भाइरसकारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित भएको थियो । कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको हो ।
समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अङ्कका साथ शीर्ष स्थानमा छ । समान खेलबाट १० अङ्क जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्कसहित चौथो स्थानमा छ ।
