भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

चारबुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै

चारबुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको महोत्तरीमा सम्बद्ध पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको हो । बुधबार साँझ बर्दिबासमा नागरिकस्तरमा गठित वार्ता समिति र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालबीच पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई शहीद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकालाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको हो ।

यो चारबुँदे सहमतिको नागरिकस्तरमा गठित वार्ता समितिका संयोजक चिरञ्जीवी हमाल र जिल्लाका प्रमुख जिल्ला अधिकारी कटुवालले पुष्टि गर्नुभयो । दुवै पक्षबीच प्रदर्शनका कार्यक्रम रोक्ने र भएका सहमतिको कार्यान्वयनका लागि गृहमन्त्रालयमा पहलकदमी बढाउने टुङ्गो भएको छ । यद्यपि जिल्लाका अन्य भेगमा प्रदर्शन रोकिए पनि बर्दिबास नगरका छिटफुट ठाउँमा अझै टायर बाल्ने र सवारी साधन रोक्ने काम भइरहेको यात्रुले गुनासो गरेका छन् । सहमतिपछि सडक अवरोध गर्नेसँग समितिको सम्बद्धता नरहेको संयोजक हमालले स्पष्ट पार्नुभयो । गत आइतबार अपहरणपछि हत्या गरिएकी बर्दिबास–१४ की छ वर्षीया बालिका गुलाव शाह ९गुलवशा० खातुनका हत्यारालाई हँदैसम्मको कारवाही र मङ्गलबार बर्दिबासमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका बर्दिबास–१ का बुद्धिराज ९सञ्जय० न्यौपानेलाई शहीद घोषणा गर्दै क्षतिपूर्ति र घाइतेको उपचार खर्चको माग गर्दै बुधबार बर्दिबासका अतिरिक्त जिल्ला सदरमुकाम जलेश्वर, सम्सी, सीतापुर र गौशालासहितका ठाउँमा प्रदर्शन भएका थिए ।

बर्दिबासमा जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनकारीले दिनभर प्रदर्शन गरेका थिए । गत आइतबार अपहरणमा परेर हत्या गरिएकी बालिकाको शव प्रहरीले सोमबार मध्यरातमा उनको घर नजिकै बोरामा खाँदिएको अवस्थामा बरामद गरेको हो । यस घटनामा प्रहरीले गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरी अनुसन्धान थालिसकेको छ । बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने अड्कल गरिएको छ । यद्यपि यो पक्ष अस्पतालको परीक्षण रिपोर्टले स्पष्ट पार्ने जिल्लाका प्रहरी अधिकारीको भनाइ छ । बालिकाको शव बरामद भएपछि मङ्गलबार बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलाई भगाउन गोली प्रहार गर्दा सञ्जय न्यौपाने र बर्दिबास–५ का श्याम कार्की घाइते भएका थिए । न्यौपानेको उपचारको क्रममा मृत्यु भइसकेको छ भने कार्कीको काठमाडौँमै उपचार भइरहेको छ । अर्का बाँसको भाटाले लागेर घाइते भएका अफताव आलम बर्दिबासकै उपचारले निको हुँदै गएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिनुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.