भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा

जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा

जाजरकोट । दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ । जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको प्रहरीको भनाइ छ । स्नानकक्ष, शौचालय र खानेपानीको समस्या पनि उस्तै छ ।

आफ्नै भवन भएको ठाउँमा समेत छाना चुहिँदा बस्न योग्य नभएको प्रहरीले गुनासो पटक–पटक गरे पनि मागको सुनुवाइ भएको छैन । चुहिने कच्ची भवनमा सास्तीका साथ दैनिक सेवामा जुटिरहेको प्रहरीले बताएको छ । जिल्ला सदरमुकामको भेरी नगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको भवन जीर्ण हुँदा कतिखेर भत्किन्छ भनेर रातभरि प्रहरीलाई निद्रा नलाग्ने गरेको बताउँछन् ।

प्रहरी नगरपालिकाको स्यालामा भाडाको भवनमा बसिरहेको छ । त्यस्तै वडा नं १ रिम्नामा आफ्नै भवन भए पनि खानेपानीको अभावमा समस्या हुँदै आएको जाजरकोटका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक मधु थापाले बताउनुभयो । भेरी–११ जगतीपुर, वडा नं १२ मटेला, वडा नं १३ मा खरको छानो चुहिने खानेपानी र शौचालयको समस्या रहेको छ । भेरी–३ ठाटीमा भवन अभाव तथा पहिराको जोखिममा रहेका कारण समस्या हुँदै आएको छ ।

पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ गर्खाकोटमा भाडाको घर र वडा नं ९ पन्चाला दहमा जीर्ण भवनमा बसेर काम भइरहेको र शौचालयको समस्याले गर्दा हैरान भएको प्रहरीले बताएका छन् । बारेकोट गाउँपालिकाको वडा नं १, २, ५ र ८ मा भाडाको भवनमा बस्न बाध्य भएको प्रहरीले बताएका छन् । त्यस्तै नलगाड नगरपालिका–८ मैदेमा भाडामा रहेको भवनमा शौचालय नहुँदा समस्या भएको छ । वडा नं ११ मा समेत भाडामै घरमा प्रहरी चौकी छ ।

कुशे गाउँपलिका–३ अछार्नीमा रहेको प्रहरी चौकीमा स्नानकक्ष नहुँदा प्रहरीलाई सरसफाइमा समस्या पर्नुका साथै भान्सामा पानी चुहिने हुँदा खाना पकाउन मुस्किल हुने गरेको छ । भाडामा रहेको यस भवन कच्ची माटोले बनेका कारण दैनिक समस्या हुँदै आएको प्रहरीले बताएको छ । छेडागाड नगरपालिका–३ दशेरामा रहेको प्रहरीको आफ्नै भवन चुहिँदा प्रहरीलाई सुत्न समस्या हुँदै आएको छ ।

शिवालय गाउँपालिका–१ छेडाचौरमा भान्साघर चुहिँदा खाना पकाउन मुस्किलका साथै खानेपानीको अभावमा भेरी नदीको फोहर पानी पिउन बाध्य भएको प्रहरीले बताएको छ । वडा नं ५ को थालारैकरको भवनसमेत भाडामा रहेको छ । गाउँमा रहेको प्रहरी चौकीमा बत्ती, खानेपानीलगायतको समस्या हुँदै आए पनि समस्या बुझ्ने कोही नभएको प्रहरीको भनाइ छ । सदरमुकामस्थित जिल्ला कार्यालयबाट गाउँमा रहेका प्रहरी चौकीमा सम्पर्क गर्न खोजे पनि समयमै सम्पर्क हुन नसक्ने अवस्था रहेको जाजरकोटका प्रहरी प्रमुख थापाले बताउनुभयो ।

पर्याप्त दरबन्दीसमेत नभएका कारण दैनिक काममा समेत बाधा पुग्दै आएको छ । आकाशमा बादल लाग्ने बित्तिकै प्रहरी चौकीमा सम्पर्क टुट्ने गरेको प्रमुख थापाले जानकारी दिनुभयो । बस्न, खानाका साथै सुत्नका लागिसमेत निकै अप्ठ्यारो हुँदै आएको छ । प्रहरीको सञ्चार सेट तथा नेपाल टेलिकमको सेवाले काम नगर्दा दैनिक काम कारवाहीमा समस्या भोग्नुपरेको प्रहरीले बताएका छन् । गाउँमा कच्ची माटाले बनेका घरमा बसेर सेवा दिँदा आफैँ कतिबेला घर भत्किन्छ भन्ने डरले चिन्ता हुने गरेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.