जर्मनीको गोलवर्षा, समूह इमा दबदबा कायम

जर्मनीको गोलवर्षा, समूह इमा दबदबा कायम

ललितपुर, ०२ असार । नवप्रवेशी कुरासाओमाथि ७–१ को शानदार जित दर्ता गर्दै जर्मनीले समूह इमा आफ्नो बलियो उपस्थिति देखाएको छ । पहिलो खेलपछि चार पटकको विश्व विजेता जर्मनी ३ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ ।

समूहको अर्को खेलमा आइभरी कोष्टले इक्वेडरलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ । समान ३ अंक भए पनि उत्कृष्ट गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा रहेको छ भने आइभरी कोष्ट दोस्रो स्थानमा छ ।

जर्मनीले पहिलो खेलमा सात गोल गर्दै एक गोल मात्र व्यहोरेको छ । यता आइभरी कोष्टले एक गोल गरेको छ भने कुनै गोल खाएको छैन ।

पहिलो चरणको एक खेल सकिँदा इक्वेडर तेस्रो र कुरासाओ चौथो स्थानमा रहेका छन् । इक्वेडरले गोल गर्न नसके पनि एक गोल मात्र खाएको छ भने कुरासाओले एक गोल गर्दै सात गोल व्यहोरेको छ ।

अन्तिम ३२ को दौड अझै खुला

जर्मनी र आइभरी कोष्टले विजयी सुरुआत गरेकाले अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो देखिएको छ । यद्यपि, इक्वेडर र कुरासाओको सम्भावना भने समाप्त भएको छैन ।

आगामी खेलहरू दुवै टोलीका लागि निर्णायक हुनेछन् । जित वा बराबरीले अर्को चरणको आशा जीवित राख्न सक्छ भने हारले प्रतियोगिताबाट बाहिरिने जोखिम बढाउनेछ ।

अब जर्मनीले आइभरी कोष्ट र इक्वेडरसँग खेल्न बाँकी छ । कुरासाओले पनि आइभरी कोष्ट र इक्वेडरको सामना गर्नेछ । यस्तै आइभरी कोष्टले जर्मनी र कुरासाओसँग तथा इक्वेडरले कुरासाओ र जर्मनीसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

विश्वकप इतिहासमा जर्मनीको गौरवशाली यात्रा

विश्व फुटबलमा जर्मनी सर्वाधिक सफल टोलीमध्ये एक हो । जर्मनीले हालसम्म चार पटक विश्वकप उपाधि जितेको छ भने चार पटक उपविजेता र चार पटक तेस्रो स्थान हासिल गरेको छ ।

आइभरी कोष्टले स्वतन्त्र राष्ट्रका रूपमा पहिलो पटक सन् २००६ को विश्वकपमा सहभागिता जनाएको थियो । त्यसयता उसले सन् २०१० र २०१४ सहित तीन संस्करणमा विश्वकप खेलेको छ ।

इक्वेडरले चौथो पटक विश्वकपमा सहभागिता जनाइरहेको छ । उसले सन् २००६ मा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । कुरासाओ भने पहिलो पटक विश्वकप खेलिरहेको टोली हो ।

नयाँ ढाँचामा विश्वकप

४८ राष्ट्र सहभागी विश्वकपमा १२ समूहबाट प्रत्येक समूहका विजेता र उपविजेता गरी २४ टोलीले सिधै अन्तिम ३२ मा स्थान बनाउनेछन् । बाँकी ८ स्थान समूह चरणका उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीलाई प्रदान गरिनेछ ।

यस व्यवस्थाका कारण समूहमा तेस्रो हुने टोलीले पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहनेछ । त्यसैले समूह चरणको प्रत्येक खेल टोलीहरूका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ ।

 


Thali Mobile Pvt.Ltd.