भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

झापामा ठूलो सौर्य विद्युत् परियोजना

झापामा ठूलो सौर्य विद्युत् परियोजना

झापा ।  झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा रु २० लाखका दरले जग्गा खरिद गरिएको कम्पनीका अध्यक्ष एवं निवर्तमान सङ्घीय सांसद लालबहादुर सावाले बताउनुभयो ।

आयोजनाको कूल लागत रु ७९ करोड रहेकामा रु ६० करोड बैंक कर्जामार्फत स्रोत व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । कम्पनीले रु एक लाखदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ । ‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत् उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार आगामी वर्षको पुस १५ सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइएको छ । व्यावसायिक उत्पादन भने २०७८ पुस मसान्तसम्ममा गर्ने लक्ष्य लिइएको सञ्चालक भट्टराईले जानकारी दिनुभयो । यहाँबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई प्रतियुनिट रु ७।३० का दरले बिक्री गर्ने कम्पनीको योजना छ । यसले वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन गर्ने कम्पनीको दाबी छ । कम्पनीले यही वर्षको माघ मसान्तसम्ममा विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता ९पिपीए० गरिसक्ने र चैतको पहिलो सातातिर परियोजनाको इपिसी ठेक्का दिने जनाएको छ ।

झापामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला परियोजना सफलतापूर्वक सञ्चालन भइरहेको देखेपछि झापा इनर्जी कम्पनी स्थापना गरिएको सञ्चालक एवं सहकारी अभियानकर्मी रामचन्द्र उप्रेतीले बताउनुभयो । कम्पनीले शनिबार दोस्रो वार्षिक साधारणसभा सम्पन्न गर्दै २०७८ मङ्सिर मसान्तमा आयोजना सम्पन्न गर्ने अठोट गरेको छ ।रासस

 


Thali Mobile Pvt.Ltd.