भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

झोलुङ्गे पुलको जिल्लामा म्याग्दी जोड्ने अर्को पुल

झोलुङ्गे पुलको जिल्लामा म्याग्दी जोड्ने अर्को पुल

म्याग्दी । बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिने क्रम जारी छ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षभित्रै बागलुङ नगरपालिका–४ कुडुँले फेदीबाट म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्नेगरी झुलुङ्गे पुल निर्माण सुरु भएको थियो ।

कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भइसकेर हस्तान्तरणको मात्रै काम बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो । “बागलुङ र म्याग्दी जिल्ला जोड्ने झोलुङ्गे पुलको निर्माण सकिएको छ”, खड्काले भन्नुभयो “पुल हस्तान्तरणको प्रक्रियामा पुगेका छौँ, पुल निर्माण सम्झौता अनुसारको सबै काम सम्पन्न गरेका छौँ ।”

सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाडाँैले म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडँुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत असोजमा शिलान्यास गरिएको थियो । कुडुँलेदेखि रत्नेचौर जोड्ने उक्त झोलुङ्गे पुल रु तीन करोड ५० लाखमा निर्माण गरिएको छ ।उक्त पुल निर्माणसँगै एक घण्टाको बाटो पाँच मिनेटमा छोट्टिएको बागलुङ नगरपालिका-४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले जानकारी दिनुभयो ।

पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दुध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने क्षत्रीको भनाइ छ ।गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो । पुल निर्माण गर्नका लागि बागलुङतर्फ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो ।

म्याग्दी जिल्लाको रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसाय लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ ।

बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसँग जोडेर विकास गर्न पुलले सहयोग गर्ने स्थानीयवासीको भनाइ छ । बेनीको रत्नेचौर र बागलुङको कुडुँले फाँटमा तोरी फुल्ने सिजनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेकोमा यसवर्ष पुल निर्माणसँगै पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको स्थानीयवासी टेकबहादुर रावलले जानकारी दिनुभयो ।

पुल निर्माणसँगै बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । रत्नेचौर, ज्यामरुककोट लगायतका स्थानीय बासिन्दा प्रशासनिक कामका लागि मात्रै बेनी जाने र अन्य आर्थिक कारोबारका लागि बागलुङ आउने भएकाले सहज हुने भएको छ ।—

 


Thali Mobile Pvt.Ltd.