भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

डुडुवामा कन्या मुद्दति खाताः छोरीको पढाइ र विवाहको चिन्ता हट्यो

डुडुवामा कन्या मुद्दति खाताः छोरीको पढाइ र विवाहको चिन्ता हट्यो

बाँके । जिल्लाको डुडुवा गाउँपालिकाले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत ‘कन्या मुद्दति खाता’ खोलिदिए पछि अभिभावक खुशी भएका छन् । छात्राको पढाइलाई निरन्तरता दिन र उमेर नपुगी विवाह हुने प्रचलनलाई अन्त्य गर्न गाउँपालिकाले सो अभियान सुरुआत गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत सबै बालिकाको नाममा खाता खोलिदिने व्यवस्था मिलाएको जानकारी दिए ।

उहाँका अनुसार यस्ता बालिकाको बैँक खातामा रु १० हजार जम्मा गरिदिने र २० वर्ष नपुगी निकाल्न नपाउने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो “छोरीको पढाइ पूरा होस् र उमेर नपुगी विवाह पनि नहोस् भन्ने उद्देश्यले अभियान थालेका हौँ, छोरीले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु हाम्रो प्रमुख ध्येय हो ।” गाउँपालिकाले अभिभावकको मृत्यु भएमा वा आफैँ कुनै कारणले अशक्त भए खाताको रकम निकाल्न पाउने गरी कार्यविधिसमेत बनाएको छ ।

यसबाट अभिभावक निकै उत्साहित भएका छन् । डुडुवाका छ वडाभित्रका सबै बालिकाका नाममा कन्या मुद्दति शिक्षा कार्यकम लागू गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । यसका लागि यस वर्ष रु ४० लाख छुट्याइएको छ । उक्त कार्यक्रममा समेटिन बालिका स्वास्थ्य सस्थामा जन्मिएको प्रमाणपत्र, जन्मदर्ता तथा वडा कार्यालयको सिफारिस हुनुपर्छ । बेटी बचाऊ, बेटी पढाऊँ नीति तथा कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा जन्मिने नवजात छोरीका नाममा कन्या मुद्दति खाता सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

खातामा जम्मा भएको रकम उनी २० वर्ष पुगेर नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि उनैलाई हस्तान्तरण गरिदिने व्यवस्था कार्यविधिमा छ । अभिभावकको रोहबरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरेको छ । “बैंक खाता छोरीको शिक्षा र सुरक्षालाई ध्यान दिइ अभियान ल्याएका हौँ” गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले भन्नुभयो, “खासमा छोरीहरुको साक्षरतादर बढाउने र बालविवाह न्यूनीकरण गर्ने यसको उद्देश्य हो ।

यसका साथै अभिभावकको क्षति कम गर्न रु पाँच लाखको दुर्घटना बिमा पनि गराएका छौँ ।” खाता खोल्दा सुरुमा अभिभावक आफैँले रकम जम्मा गर्नुपर्ने र गाउँपालिकाले रु पाँच हजार थपिदिने योजना बनाइएको थियो । कार्यक्रमका श्रोत व्यक्ति दिपेश चौधरीले भन्नुभयो, “धेरै अभिभावकको पैसा तिर्न सक्ने हैसियत नभएकाले २०७८ साउनदेखि भने पालिकाले नै रु १० हजार राखेर खाता खोलिदिने निर्णय गयो ।” गाउँपालिका शिक्षा अनि चेतनाको दृष्टिले पछाडि छ । छारीलाई पढाउन खासै चासो दिइन्नँ ।

अधिकांश छोरी घरको सानोतिनो काम र गाईवस्तु चराउनमै बिताउँछन् । धेरै अभिभावकले छोरीलाई विद्यालय नपठाउने गरेको शिक्षक गोपीचन्द्र बर्माले बताए । उहाले भन्नुभयो, “कति त नाबालकमै विवाह गरेका कारण विद्यालय आउँदैनन्, पालिकाको योजना लागू भएसँगै छोरीको उच्च शिक्षा पढ्ने चाहने पूरा हुनेमा विश्वास बढेको छ ।” विसं २०७७ साउनपछि जन्मेका सबै छोरीको बैंक खाता खोलिदिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए ।

उहाँका अनुसार खाता खोलिदिने र पहिलो वर्ष रु १० हजार जम्मा गरिदिने कार्यक्रम आकर्षक र प्रभावकारी भएको जानकारी दिए । बैंक खाता खोलिएसँगै धेरै परिवारलाई छोरीको पढाइ अनि विवाहको चिन्ता हटेको छ । डुडुवा–६ रामनगर उचुवाकी सुनिता गोडियालाई कान्छी छोरीको बैंक खाता खोलिएपछि मन ढुक्क भएको छ । तीन छोरीमध्ये लक्ष्मीको मात्र बैंकमा खाता छ । अन्य छोेरीको पालामा गाउँपालिकामा कन्या मुद्दति खाता योजना आएकै थिएन । लक्ष्मी बल्ल तीन वर्ष हुँदैछिन् ।

“सुरुमा रु पाँच हजार बुझाएँ, हामी मजदुरी गर्नेले वर्षौँ यत्तिका पैसा बुझाउन कहाँ सक्थ्यौँ”, उहाँले भन्नुभयो, “अहिले पालिका आफैँले वर्षको रु १० हजार खातामा जम्मा गरिदिँदा धेरै खुशी छौँ ।” उहाँले स्थानीय सरकारले ल्याएको कन्या मुद्दति खाताप्रति खुशी व्यक्त गर्दै यसले आर्थिक टेवा समेत सहयोग पुगेको बताए । यस कार्यक्रमअन्तर्गत हालसम्म १७२ छोरीको खाता खोलिएको छ । उनीहरू सबै तीन वर्षमुनिका छन् । उनीहरु सबैको बिमासमेत गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.