दार्चुला । हिमपहिरोमा परेर ज्यान गुमाएकाहरुको शव ल्याउन समस्या भएको छ । दार्चुलाको व्यास गाउँपालिका १ भोलीनमा हिमपहिरोमा परेर ज्यान गुमाएकाको शव ल्याउन समस्या भएको हो । गएको मङ्गलवार हिमपहिरोमा परेर बेपत्ता भएका पाँच जनामध्ये ३ जनाको शव फेला परेको थियो । भारतीय सडकमार्गबाट उनीहरुको शव सदरमुकाम खलङ्गा ल्याउने भनिए पनि भारततर्फ सडकमा पहिरो खस्दा समस्या भएको हो ।
तीन जनाको शव भारतीय सडक मार्ग हुँदै सदरमुकाम ल्याउने कार्य भइरहेको भए पनि भारतको गर्वाधार क्षेत्रमा पहिरो गएपछि समस्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिमपहिरोमा परि दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको ज्यान गएको थियो ।
यस्तै, हिमपहिरोमा बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया इश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अझै थाहा हुन सकेको छैन । मङ्गलवार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना टेन्टसहित बेपत्ता भएका थिए । सात जनाले भागेर ज्यान जोगाएका थिए । भागेर ज्यान जोगाएका ७ जनालाई प्रहरीले सकुशल उद्धार गरेको थियो । सडक सञ्चालनमा आएपछि शुक्रबार उनीहरुको शव खलङ्गा पुर्याइने बताइएको छ ।
