काठमाडौं । साउन महिनाको अन्तिम सोमबार भएपछि देश भरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको हो । यस वर्षको साउनको अन्तिम सोमवार पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ भने यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो ।
पशुपतिनाथ मन्दिरमा भक्तजनहरु बेलपत्र, फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ ।
भक्तजनहरुले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् । विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्दछन् ।
साउनको पहिलो सोमवारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् । साउनको अन्तिम सोमवार बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड छ ।
साउन महिना र सोमवार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गर्छ । साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ । सनातन हिन्दू धर्मावलम्बीले आज भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् ।
महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन छ । साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ।
