भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

‘नाम’ शान्त र समृद्ध विश्व निर्माणमा लाग्नुपर्छः परराष्ट्रमन्त्री डा. खड्का

‘नाम’ शान्त र समृद्ध विश्व निर्माणमा लाग्नुपर्छः परराष्ट्रमन्त्री डा. खड्का

काठमाडाैं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले असंलग्न राष्ट्रहरुको सम्मेलन (नाम) को मूल्य, मान्यता र सिद्धान्तलाई नेपालले आफ्नो संविधान तथा परराष्ट्र नीतिमा समेत उल्लेख गरी परिपालन गरेको बताउनुभएको छ । असंलग्न राष्ट्रहरुको सम्मेलन (नाम) को ६०औँ वार्षिकोत्सवका अवसरमा बेलग्रेडमा आयोजना गरिएको बैठकलाई नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा गए राति सम्बोधन गर्दै उहाँले नामको सिद्धान्त नेपालको परराष्ट्र नीतिको एक भाग रहेको बताउनुभएको हो ।

मन्त्री डा खड्काले नामको ६० वर्षको इतिहासको स्मरण गर्दै भन्नुभएको छ, “हामीले नाम सम्मेलनलाई स्थापना गरेर अघि बढ्ने क्रममा र अहिले विश्वमा धेरै परिवर्तन भएको छ, ६० वर्षअघिको तुलनामा अहिलेको विश्व आधारभूत रुपमै धेरै जटिल बन्दै गएको छ ।”

नाम अभियानले विश्वमा स्वतन्त्रता, प्रजातन्त्र र न्यायको प्राप्तिमा उपलब्धि हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै परराष्ट्रमन्त्री डा खड्काले तर पनि विश्वमा जातीय द्वन्द्व, देशभित्रै आन्तरिक द्वन्द्व, हिंसात्मक अतिवाद, आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, अर्थतन्त्रको जोखिमपूर्ण अवस्था, विश्वका देशहरु र नागरिकका बीचमा धनी र गरिबबीचको अन्तर र विश्वका धेरै देशहरुमा खाद्य सङ्कटजस्ता विषयमा समस्याहरु देखिएका बताउनुभयो ।

यी चुनौतीका साथै भूराजनीतिक समस्याहरु पनि दिनप्रतिदिन बढ्दै गएको, आणविक अस्त्रहरुको आधुनिकीकरण र यसका कारण अस्त्रयुद्धको अवस्था देखिएको भन्दै शक्ति राष्ट्रहरुबीचको राजनीतिक द्वन्द्व पनि समस्याका रुपमा देखिएको सो सम्बोधनका क्रममा उहाँले बताउनुभयो ।

यसका साथै पछिल्लो समयमा देखापरेको कोभिड–१९ को महामारी पनि विश्वमा मानव समुदायकै लागि एक प्रमुख चुनौतीका रुपमा देखिएको उहाँले बताउनुभयो । यसले पनि विश्वमा खोपको पहुँच पुगेका र नपुगेका देशहरुका रुपमा संसारका देशलाई दुई भागमा विभाजन गरिदिएको उहाँको भनाइ थियो ।

त्यसैगरी जलवायु परिवर्तन पनि मानवजातिकै एक प्रमुख चुनौतीका रुपमा देखिएको र यसले मानव जातिलाई असर पार्न थालिसकेको मन्त्री खड्काले उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री खड्काले यस्तो अवस्थाको विश्वमा नामले विश्वका गरिब तथा यस्तै जोखिममा रहेका देशहरुका पक्षमा बोल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वमा देखिएको यो जटिल परिस्थितिलाई चिर्दै नाम सम्मेलनले शान्त र समृद्ध विश्व निर्माणका लागि लाग्नुपर्ने र यसका लागि नामले संयुक्त राष्ट्रसङ्घ जस्ता बहुराष्ट्रिय संस्थाहरुको पुनर्संरचनाका लागि पनि लाग्नुपर्ने छ । ” परराष्ट्रमन्त्री खड्काले नाम सम्मेलनले यसका सदस्य राष्ट्रहरुको साझा चासोका लागि मतैक्यताका साथ लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.