भक्तपुर । नगर क्षेत्रभित्र नयाँ सडक बत्ती व्यवस्था गर्ने योजनाअन्तर्गत नगरका विभिन्न स्थानहरुमा पुराना पोलहरु स्थानान्तरण गर्ने र तार तथा केबुलहरु व्यवस्थापन गर्ने विषयमा सरोकारवालाहरुबीच छलफल भएको छ ।
ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरको सुन्दरता कायम गर्न नगरभित्रका विभिन्न स्थानहरुमा छरपष्ट रुपमा राखिएका तारहरुलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्दै तारहरु भूमिगत गरिने बैठकमा नगर प्रमुख प्रजापतिले जानकारी दिए । नगरभित्रका छरपष्ट रहेका तार तथा केबुलहरुले नगरको स्वरुपलाई कुरुप बनाइरहेको भन्दै उनले सिंगो नगरलाई सुन्दर बनाउन सरोकारवाला सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल र समन्वय गरिदिन अनुरोध समेत गरे ।
नगरका विभिन्न ठाउँहरुमा नयाँ पोलहरु जडानका क्रममा कुनै पनि बाधा अवरोध नहोस् भनी सम्बन्धित सरोकारवालासँग छलफलहरु चलाएको छ । नगरभित्रका सम्पदाहरुमा राखिएको रात्रीकालीन बत्ती व्यवस्थापनले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुगिरहेको छ ।
बैठकले भक्तपुर नगरका सडक बत्ती जडान गर्ने स्थानहरुमा विभिन्न सेवा प्रदायकहरुको तार÷केबुलहरु झुन्डिएका, लट्रिएका, बढी भएका, छरपष्ट अव्यवस्थित केबुलहरुलाई सम्बन्धित निकायहरु (एनईए, टेलिकम, आइएसपी, केबल टिभी) को तर्फबाट व्यवस्थित गर्न लगाउने निर्णय भएको छ ।
उक्त स्थानमाहरुमा बढी भएका काम नलागेका पोलहरु हटाउने र आवश्यक स्थानमा सम्बन्धित निकायको निश्चित मापदण्डभित्र रही नयाँ पोलहरु व्यवस्था गरी सडक बत्ती जडान गर्ने निर्णय भएको नगरले जनाएको छ । बैठकमा जनप्रतिनिधि, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, भक्तपुर नगर क्षेत्रमा केबुल तथा इन्टरनेट सेवा प्रदान गर्ने सेवा प्रदायकलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
