क्यानडा । प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफी ग्रेगोयरले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याएका छन् । ५१ वर्षीय ट्रुडो र ४८ वर्षकी सोफीबीच सन् २००५ मा विवाह भएको थियो ।
वैवाहिक सम्बन्ध टुंग्याउदै प्रधानमन्त्री ट्रुडोले भने, ‘धेरै अर्थपूर्ण र कठिन कुराकानी गरेपछि सोफी र म तपाईंहरूलाई भन्न चाहन्छौं, हामीले छुट्टिने निर्णय गर्यौं ।’ सोफीले पनि यस्तै स्टाटस आफ्नो इन्स्टाग्राममा लेखेकी छन् ।
ट्रुडो सन् २०१५ मा ४३ वर्षको उमेरमा क्यानडाको प्रधानमन्त्री बनेका थिए । उनीहरूको वैवाहिक सम्बन्ध केही वर्षदेखि नाजुक अवस्थाबाट गुज्रिरहेको थियो । ट्रुडो र सोफीका तीन सन्तान रहेका छन् ।
छुट्टिएपछि सोफी ओटावामा छुट्टै ठाउँ बस्ने छिन् तर छोराछोरीका लागि उनले प्रधानमन्त्रीको सरकारी निवासमा नै केही समय बिताउने बताइएको छ ।
ट्रुडोका लागि यो सम्बन्धविच्छेद इतिहासको पुनरावृत्ति पनि बनेको बताइएको छ । सन् १९७७ मा क्यानडाको प्रधानमन्त्री भएका बेला उनका बुवा पिएरे ट्रुडोको पनि पत्नी मार्गेटसँग सम्बन्धविच्छेद भएको थियो ।
