प्रादेशिक कार्यालयमा गहुँको बीउ छैन

प्रादेशिक कार्यालयमा गहुँको बीउ छैन

हेटौँडा । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडाले किसानको मागअनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन । लिमिटेडको गोदाममा पर्याप्त मात्रामा गहुँको बीउ भण्डारण नहुँदा किसानलाई मागअनुसार बीउ उपलब्ध गराउन नसकिएको लिमिटेडका कार्यालय प्रमुख लक्ष्मण यादवले बताए ।

चालु आव ०७७-०७८ मा करिब दुई हजार ५०० मेट्रिक टन गहुँका बीउको माग भए पनि कार्यालयबाट करिब एक हजार ६ सय १२ मेट्रिक टन मात्र बीउ उपलब्ध गराउने लक्ष्य रहेको छ । कार्य क्षेत्रअन्तर्गत यस आव ०७७-०७८ मा वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश नं २ को बारा, पर्सा र रौतहट जिल्लामा गहुँको बीउ उपलब्ध गराउने योजना छ तर सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा अन्य जिल्लामा समेत गहुँको बीउ उपलब्ध गराउँदै आएको कार्यालयको भनाइ छ ।

जिल्लाका विभिन्न सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्तामार्फत गहुँको बीउ बिक्री गर्दै आएको छ । कम्पनीले गहुँको बीउ पर्याप्त मात्रामा उपलब्ध गराउन नसकेको कार्यालयमा गहुँको बीउ खरिदका लागि आएका सर्लाही कवलासी निवासी कवलासीस्थित कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उपेन्द्र यादवले बताए ।

 


Thali Mobile Pvt.Ltd.