भर्खरै : Sorry, your browser does not support inline SVG.
साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ |

माघी पर्वको चहलपहल सुरु

माघी पर्वको चहलपहल सुरु

कैलाली । पश्चिमी तराईका कैलालीलगात जिल्लाहरुमा बसोबास गर्ने चौधरी–थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वको चहलपहल सुरु भएको छ ।विशेषगरी पुस अन्तिम दिनबाट सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने यो पर्वमा माघ १ गतेलाई नयाँ वर्षको रुपमा स्वागत गर्दै हर्सोल्लास वातावरणमा मनाइने गरेको थारु अगुवा एवं थारु कल्याणकारीका केन्द्रीय सदस्य प्रभातकुमार चौधरीले जानकारी दिनुभयो ।वर्षभरि गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा भलमन्सा, अघरिया, चौकीदरवा लगायतका पदहरुमा ककसलाई चयन गर्ने भन्ने विषयमा पनि चौधरी थारू बस्तीहरुमा छलफल चलिरहेको छ । माघी मनाउने तयारीस्वरुप प्रत्येक घरपरिवारमा सुँगुर र बङ्गुरको मासुको व्यवस्थापन गर्नुका साथै गाउँका लागि आवश्यक कार्ययोजनाबारे एक ठाउँमा भेला भएर छलफल गरिरहेको उहाँको भनाइ छ । मासुका लागि बङ्गुर, सुँगुर काट्नेलाई जिता मार्ने भनिन्छ । आज राति नै थारु जातिको संस्कृति अनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, आगो ताप्ने, बङ्गुरको मासु, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको केन्द्रीय सदस्य चौधरीको भनाइ छ ।

“माघे सङ्क्रान्तिका दिन अर्थात् भोलि विशेष गरी बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरेर घरका महिलाले छुट्याइएको चामल र मासको दाल छुने र त्यो छोएको चामल र मासको दाल घरका चेलीबेटी वा ब्राह्मणलाई दिई टीका लगाउने चलन छ”, चौधरीले भन्नुभयो, “त्यसपछि घरका आफूभन्दा ठूलाबडाबाट आशिर्वाद लिने परम्परा रहिआएको छ ।” पर्वको तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकका बजारमा जाने परम्परा पनि रहेको उहाँले बताउनुभयो ।थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनइरहेको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका सुन्दरलाल चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “थारू गाउँ अहिले माघीमय भएका छन् ।” यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँनयाँ लुगाकपडा लगाउने चलन छ । रोजगारीका लागि बाहिरका घरका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन् । पर्वमा विशेष गरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गेटालगायत स्थानीय खानाका पकवान पकाइ खाने चलन छ ।

बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने मुख्य पर्व भएकाले भव्यरुपमा मनाइरहेको धनगढी–२ का प्रेमबहादुर चौधरीले बताउनुभयो । “गाउँमा आफन्त, परिवारका सदस्य तथा साथीहरु मिलेर रमाइलो गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “माघीको चहलपहल विगतका सम्पूर्ण पीडा भुलाइदिन्छ ।” यति मात्र नभएर थारुबस्तीमा माघौटा, सखिया, झुमरा, लाठी नाचलगायत लोकगीतसँगै डम्फु र मादलको आवाज पनि गाउँघरमा गुन्जिन लागेको छ ।माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गरिँदै आएको थियो । विगत दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण माघी पर्वको अवसरमा खासै मेला, महोत्सवको आयोजना गरिएको देखिँदैन ।

 


Thali Mobile Pvt.Ltd.