भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य

म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य

म्याग्दी, । म्याग्दीका गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ । जिल्लाका छवटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेदवार विजयी भएका छन् । नगर र गाउँपालिकाको नेतृत्वका लागि तीन र वडाको नेतृत्वका लागि दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरु सबै पराजित हुँदा पालिका र वडाको नेतृत्वमा महिलाको उपस्थिति शून्य भएको हो ।

धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी थमसरा पुन कांग्रेसका प्रेमप्रसाद पुनसँग पराजित हुनुभयो । नेकपा माओवादी केन्द्रबाट रघुगङ्गा गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएकी मीना विश्वकर्मा तेस्रो बन्नुभयो । राप्रपाबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बन्नुभएकी मीनाकुमारी शर्मा चौथो बन्नुभयो । मङ्गला गाउँपालिकाको वडा नं ४ मा एमालेले लक्ष्मीकुमारी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए । कांग्रेसका लालबहादुर रोकाले दुुवै जनालाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित हुनुभयो ।

स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नं ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । दलहरूले नेतृत्व तहमा महिलालाई अवसर नदिएका कारणले निर्वाचित हुनेको सङ्ख्या पनि कम भएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताउनुभयो ।

जिल्लामा नेकपा एमालेले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ । कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेको छ । माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एक मात्र स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.