रेलमार्ग र प्रसारण लाइनमा जोड

रेलमार्ग र प्रसारण लाइनमा जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन अन्तरदेशीय रेलमार्ग र प्रसारण लाइनले आर्थिक सम्बन्धलाई थप सुधार गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल–चीन लगानी तथा व्यवसाय मञ्च’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको रेलमार्ग र प्रसारण लाइनलाई सरकारले महत्त्वका साथ हेरेको बताएका हुन् ।

उनले दुई सरकारबीच सीमापार आर्थिक क्षेत्र स्थापना र थप व्यापारिक नाका खोल्ने विषयमा छलफल भइरहेको जानकारी दिए। प्रधानमन्त्री दाहालले चीनसँगको व्यापार घाटा बढेकामा चिन्ता व्यक्त गर्दै चीनबाट आएको प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई०को प्रतिबद्धता र वास्तविक लगानीबीच अन्तर रहेको बताए ।

नेपालले गत आर्थिक वर्ष चीनबाट करिब २ खर्ब ३२ अर्ब रुपैयाँको सामान आयात गरेकोमा ६७ अर्ब रुपैयाँको मात्र निर्यात गरेको थियो । दुई देशका निजी क्षेत्रले नेपालको नीतिगत अनुकूलताको फाइदा उठाउँदै व्यापार र लगानीका अवसरहरू प्रवद्र्धन गर्न प्रधानमन्त्री प्रचण्डले आह्वान गरे।

उनले हुम्लाको यारी, मुस्ताङको कोराला र संखुवासभाको किमाथांकामा नाकालाई प्रभावकारी बनाउने कामलाई तीव्रता दिइएको बताए। उनले चीनलाई तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी उत्पादन चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न आह्वान गरेको बताए। ‘हामीले चिनियाँ पक्षसँग करिब ५ सय १२ वस्तुलाई ‘ड्युटी–फ्रि, कोटा–फ्रि’ सुविधा पाउने वस्तुको सूचीमा राख्न अनुरोध गरेका छौं,’ उनले भने ।

 


Thali Mobile Pvt.Ltd.