भर्खरै : Sorry, your browser does not support inline SVG.

लुम्बिनीमा दसैं अवधिभरि निःशुल्क यातायात

लुम्बिनीमा दसैं अवधिभरि निःशुल्क यातायात

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका बौद्धस्थलको भ्रमण गर्न चाहने यात्रुलाई निःशुल्क यातायातको व्यवस्था मिलाइएको छ । दसैं अवधिभरि लुम्बिनी विकास कोषले पाँचवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।

पर्यटन प्रवर्द्धनका लागि यस्तो व्यवस्था मिलाएको कोषले जनाएको छ । दसैं अवधिभरि लुम्बिनी र नजिकका बुद्ध स्थलहरूको भ्रमणका लागि निःशुल्क यातायातको व्यवस्था मिलाइएको कोषका सदस्य–सचिव सानुराजा शाक्यले बताए ।

लुम्बिनीको वातावरण प्रदूषण न्यूनीकरण गर्न एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई तीन वर्षअघि उपलब्ध गराएको ती बस सञ्चालन गर्ने कार्यविधि र स्वामित्व कोषलाई हस्तान्तरण नगरिएकाले सञ्चालनमा आएका थिएनन् ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर ती बस बृहत्तर लुम्बिनी क्षेत्रमा सञ्चालन हुने छन् । ती बसद्वारा लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोटको साइड परिक्रमा, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सिमानाका बेलहियासम्म,

लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्धको मावलीस्थल देवदह, लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म निःशुल्क यातायातको व्यवस्था मिलाइएको छ ।

दसैं अवधिका लागि ती बस केही दिन परीक्षणका रूपमा सञ्चालन गरी बस र चार्जिङ स्टेसनको यान्त्रिक अवस्थाबारे जानकारी लिएपछि स्थायी रूपमा सञ्चालन गर्न कार्यविधि तथा मापदण्ड बनाइने कोषले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.